मूर्तिकला व्यवसायबाट बार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी



दाङ । कपिलवस्तु घर भएका पल्टुराम मगर मूर्तिकला व्यवसायबाट बार्षिक १३ रुपैयाँसम्म कमाउँदै आएका छन् ।

४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रम्दै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी छन् ।

वित्तीय संस्थाबाट तीन लाख कर्जा लिएर व्यवसाय सुरु गरेका मगरले अहिले श्रीजनशील मूर्ति उद्योग सञ्चालन गर्दैआएका छन् । उनको यो उद्योगलाई अहिले आर्थिक रुपमा आत्मनिर्भर बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उनले बताए । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ ।

‘जिल्लामा सङ्ग्रहालय र उद्यान बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्’, उनले भने, ‘आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । अहिले मागअनुसारको मूर्ति बनाउन भ्याननभ्याई भएको छ । ‘

यही व्यवसायबाट मगरले वार्षिक १३ लाख रुपैयाँको कारोबार गर्दै आएका छन् । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनले बताए । मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन् । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव छ ।

यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन । उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्णमा खटिएका छन् ।

सुदृढ र व्यावसायिक मूर्तिकार बन्न छोरी कृतिले यही सम्बन्धि उच्च शिक्षा हासिल गरिरहेको पल्टुरामले बताए । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्ति निमार्णसँगै बिक्री भइरहेका छन् ।

न्यूनतम तीन हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ ।


क्लिकमान्डु