सत्तामा हुनेमाथि छानबिन नहुने, सत्ता बाहिर हुनेमाथि छानबिन गर्ने गरि समिति बन्नु हुँदैन: महत



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय छानबिन समिति आवश्यक भएको बताएका हुन् ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए ।

उनले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताए । उनले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने बताए ।

कांग्रेसले रास्वपा सभापति लामिछानेमाथि छानबिनको माग गर्दा रास्वपाले भने कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणा लगायतका नेताहरुमाथि छानबिन गर्नुपर्ने बताएको छ ।


क्लिकमान्डु