रास्वपाले कांग्रेसलाई भन्यो: माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानबिन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको बताए ।

उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए ।

उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन कांग्रेसलाई आग्रह गरे ।

सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानबिन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानबिन गर्नेगरी समिति बनाउनुपर्ने बताए ।

रास्वपा सांसद झाले भने

पाँचवटा गेटबाट पाँच जना फरक पदाधिकारी छिर्नुहुन्छ । पाँच वटा फरक धारणा लिएर हामीकहाँ प्रश्तुत हुनुहुन्छ । हामीले २८ गतेदेखि दुईवटा कुरा दोहोर्‍याइरहेका छौँ कि हामीलाई बोल्न दिनुस् । हामीलाई जहाँ अभियोग लगाउनु भयो । जहाँ संसदीय प्रणालीमा रेकर्डमा बस्यो ति तथ्यांकहरु त्यो तथ्यहरु, अभियोग, अपशब्दहरु हामी त्यहीँ स्पष्टिकरण दिन चाहान्छौँ । किनकी हाम्रो जवाफ पनि रेकर्डमा जाओस् भन्न चाहान्छौँ । दोस्रो कुरा समस्या त्यो तीनवटा सहकारीमा मात्र किन हेर्नुहुन्छ तपाईहरु ? सबैमा समस्या छ । सबै ३१ हजारलाई समेटन नसकिएला तर सरकारले नै भनेको संकटग्रस्त १६ वटालाई समात्ने त हिम्मत राख्नुस् । त्यही तिनवटाको मात्र पछाडी किन जानुहुन्छ तपाईहरु ? तीनवटा सहकारीमा मात्रै छानविन गरौँ भन्दै गर्दाखेरी प्रत्यक्ष रुपमा त्यो तिनओटामा मात्रै समस्या छ भनेर अरु जनता सबै जहाँसुकै जाओस् । जेसुकै होस् हामी राजनीतिक कुण्ठा बोकेका छौँ । त्यो तिनवटामा नाम देखिएको छ, त्यहाँको मात्रै समस्या देखिएको छ । अरु केही समस्या छैन भन्न खोजेका हो । त्यो प्रष्ट रुपमा लिखित रुपमा भनिदिए भैहाल्यो नि । अबदेखि नेपाली कांग्रेसलाई मेरो अनुरोध तपाईहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को त्यसैले गर्दा हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस् । अब तपाईहरुको मौखिक अभिव्यक्ति विश्वास गर्न गाह्रो छ । हाम्रो पार्टीको नेतृत्वमा लागेको दाग राजनीतिज्ञको रुपमा गरेको अपचलन एकरत्ति पनि होइन । पहिलाका केही व्यवहारिक कुरामा मात्र उहाँहरुले जोडेर लगाएको अभियोग हो । राजनीतिज्ञको रुपमा यो देशलाई घात एउटा पनि गरेका छैनौँ । गर्ने पनि छैनौँ । तर हामीसँग हजारवटा अभियोग होला । औँला उठाउन सक्छौँ । समिति बनाउने हो भने सबैको बनाउन तयार हुने हो भनेर चुनौती पनि दिन्छौँ ।


क्लिकमान्डु