संसद सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन, सरकार सहकारी ठग बचाउन लाग्यो: कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ ।

शुक्रबार संसद भवन परिसरमा बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित बिरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको उनको भनाइ छ ।

संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उनको भनाइ छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन गर्न पुनः माग गर्ने निर्णय गरेको लेखकले जानकारी दिए।

संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर कांग्रेसले गरेको बताए ।

प्रमुख सचेतक लेखकले संसदीय मान्यतामा सभामुखको भुमिका तटस्थ हुनुपर्ने भन्दै सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि बताए ।


क्लिकमान्डु