घर किन्ने हो ? बैंकले सस्तो ब्याजमा दिन्छन् ऋण (कुनमा कति)



काठमाडौं । वाणिज्य बैंकहरुले घर किन्न ग्राहकहरुलाई वार्षिक १० प्रतिशतभन्दा कम दरमा कर्जा दिन थालेका छन् । कर्जा प्रवाह सुस्त रहेको तथा घरजग्गा कारोबार ठप्प रहेकै बेला बैंकहरुले सस्तै दरमा ऋण दिने गरी ब्याजदर सार्वजनिक गरेका हुन्।

जेठ महिनाका लागि प्रकाशित ब्याजदरअनुसार एभरेस्ट र कुमारी बैंकले वार्षिक १० प्रतिशत भन्दा कम स्थिर ब्याजदरमा घर कर्जा दिनेछन्। एभरेस्ट बैंकले स्थिर दरमा ९.५ प्रतिशत वा आधारदरमा अधिकतम ३.५ प्रतिशत प्रिमियम थपेर कर्जा दिन सक्ने जनाएको छ । एभरेस्ट बैंकको पुस–चैतको औसत आधार दर ७.५ प्रतिशत छ । बैंकसँगको आपसी समझदारीमा प्रिमियमदर ३.५ प्रतिशत भन्दा कम पनि हुन सक्छ ।

यसैगरी कुमारी बैंकले ९.९९ प्रतिशत स्थिर दरमा घरकर्जा दिने उल्लेख गरेको छ । यदी केही घटबढ हुने दरमा घर कर्जा लिन चाहे ऋणीले आधार दरमा अधिकतम २.५ प्रतिशत प्रिमियम थपेर लिन सक्नेछ । यस्तो ब्याजदर आधार दर परिवर्तन भएको खण्डमा घटबढ हुनसक्छ।

बैंकहरुले सार्वजनिक गरेको जेठको ब्याजदरअनुसार एमएमबि बैंकबाट स्थिर ब्याजदरमा ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म घर कजा पाइन्छ । यदी घरबढ हुने दरमा कर्जा लिन चाहे बेसरेटमा अधिकतम २.७५ प्रतिशतसम्म प्रिमियम थप हुनेछ ।

घटबढ हुने दरमा कर्जा लिँदा बेसरेट घटेको स्थितिमा कर्जाको दर थप सस्तो हुनेछ । जबकि बेसरेट बढ्दा कर्जाको ब्याजदर पनि महँगिनेछ । प्रकाशित विवरणअनुसार एनआईसी एशिया बैंकले ११.९९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२.५ प्रतिशत र नेपाल बैंकले १४.२५ प्रतिशत ब्याजदरमा घरकर्जा दिनेछन् । यदी घटबढ हुने दरमा कर्जा लिन चाहे यी बैंकले ३, ४ र ४ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् ।

प्रकाशित विवरणअनुसार सिद्धार्थ बैंकले ९.९९ देखि ११ प्रतिशतको स्थिर ब्याजदरमा घरकर्जा दिनेछ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले १०.७५ प्रतिशतदेखि ११.२५ प्रतिशत, नबिलले ८.९९ देखि ११.४९ प्रतिशत, ग्लोबल आईएमईले ९.९९ देखि ११.९९ प्रतिशत, सिटिजन्सले ९.९९ प्रतिशतदेखि १२ प्रतिशत, लक्ष्मी सनराइजले ९.९९ देखि १२.९९ प्रतिशत, माछापुच्छ्रे र प्राइमले १२ देखि १४ प्रतिशत, नेपाल एसबीआईले १३.५ देखि १५.५ प्रतिशत र प्रभु बैंकले १२.९९ देखि १३.९९ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा दिने घोषणा गरेका छन् ।

नेपाल एसबीआई बैंकबाट घरकर्जा लिँदा सबैभन्दा महँगो पर्नेछ ।

स्थिर दरमा लिन नचाहनेका लागि बैंकले बेसरेटमा प्रिमियम थपेर कायम हुने ब्याजदर पनि सार्वजनिक गरेका छन् । प्रकाशित विवरणअनुसार सबैभन्दा बढी प्रिमियम प्राइम र कृषि विकासले ५ प्रतिशतसम्म र सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य र कुमारी बैंकले मात्रै २.५ प्रतिशत लिने उद्घोष गरेका छन् ।

पुस–चैतको औसत बेसरेट सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.०१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ७.४२ प्रतिशतमात्र छ । यस्तै एभरेस्टको ७.५ प्रतिशत छ ।


क्लिकमान्डु