युक्रेन युद्धपछि रुसमा निर्यात रोक्ने घोषणा गरेको जेसीबीले आफ्नो व्यापार रोकेन



एजेन्सी । बेलायती अर्बपति बामफोर्ड फेमिलीद्वारा सञ्चालित जेसीबीले रुसका लागि आफ्नो डोजर लगायतका निर्माण सवारी तथा उपकरण उत्पादन र निर्यात नियमित गरिराखेको छ । जवकि केही महिनाअघि मात्रै जेसीबीले युक्रेनमा भ्लादिमिर पुटिनको हमलाका कारण रुसमा आफूले डोजर लगायतका निर्माण उपकरण सप्लाइ नगर्ने घोषणा गरेको थियो ।

रुसी भन्सार कार्यालयको तथ्यांक अनुसार रुसी डिलरहरुमा जेसीबीका नयाँ उत्पादनहरु युक्रेन युद्धपछि पनि उपलब्ध छन् । जवकि २०२२ को मार्च २ पछि जेसीबीले रुसमा आफ्ना उत्पादन निर्यात रोक्ने बताएको थियो । जेसीबीका मालिक भने बेलायतमा कन्जरभेटिभ पार्टीका समर्थक पनि हुन् ।

यससँगै रुसमा जेसीबीको व्यापार र त्यहाँको ठूलो डिलरसँगको सम्बन्धमा जेसीबीको अभिव्यक्तिको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै केहीले आलोचना पनि गरेका छन् । मस्कोस्थित लोनमाडी कम्पनी जेसीबीको सबैभन्दा ठूलो डिलर पनि हो ।

२०२२ मार्च २ मा रुसले युक्रेनमा आफ्ना फौज पठाएलगत्तै जेसीबीले रुसका लागि आफ्नो निर्माण उपकरणको निर्यात रोक्ने भन्दै पटक पटक अभिव्यक्ति दिँदै आएको छ । तर भन्सार कार्यालयको तथ्यांक अनुसार जेसीबीले दसौं लाख पाउन्ड बराबरका दर्जनौं निर्माण सवारी रुसमा नियमित रुपमा निर्यात गर्दै आएको छ ।

जेसीबीका वकिलहरुले भने २ मार्च २०२२ पछि देखिएका कुनै पनि उपकरण त्यस मितिभन्दा पहिले नै पठाइएको दाबी गर्दै आएका छन् । साथै कतिपय पहिलेकै सम्झौता अनुसार पठाइएको पनि उनीहरुको भनाइ छ । यस्तै जेसीबीले आफ्नो घोषणामा कुनै विसंगति नदेखिएको भन्दै आफू आफ्नो घोषणामा स्थिर रहेको प्रतिक्रिया दिएको छ ।

जेसीबीका प्रमुख ७८ वर्षीय एन्थोनी बामफोर्ड बेलायतको कन्जरभेटिभ पार्टीका सबैभन्दा ठूला चन्दादाता हुन् । साथै उनी पूर्वप्रधानमन्त्री बोरिस जोन्सनका एक निकटस्थमध्ये एक आर्थिक सहयोगी हुन् । एन्थोनी बामफोर्डका बाबु जोसेफ साइल बामफोर्डले स्थापना गरेको उक्त कम्पनीको हालको पूँजी ५.९ बिलियन पाउन्ड स्टर्लिङ छ । जेसीबी बेलायतमा सञ्चालित सबैभन्दा ठूला निजी व्यवसायमध्ये एक हो । यस मातहत चीन, भारत लगायत विश्वभर २२ वटा फ्याक्ट्री छन् ।

जेसीबीले विश्वभर नै आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । जवकि सबैभन्दा धेरै सामग्री युक्रेन युद्ध सुरु हुनुअघि रुसबाट हुने गरेको थियो । युक्रेनमा रुसले हमला गरेपछि भने बामफोर्डले रुसप्रति बेलायत सरकारको अडानलाई समर्थन गर्दै त्यहाँ निर्यात रोक्ने घोषणा गरेका थिए । कम्पनीले रुसमा आफ्ना उत्पादनको एसेम्बलसहित अन्य व्यावसायिक गतिविधि पनि बन्द गर्ने बताएको थियो ।

तर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार जेसीबीले घोषणा अनुरुप आफ्नो निर्यात रोक्नुको सट्टा नियमित गरेको छ । साथै रुसस्थित लोनमाडी र क्विटमाडी मार्फत व्यापार बढाउँदै १ हजारभन्दा धेरै कामदारसमेत थपिएको बताइएको छ ।


क्लिकमान्डु