आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य



काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो ।

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौं योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्रौं योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्‍याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पुर्‍याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ ।

यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्‍याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । सोह्रौं योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ ।


क्लिकमान्डु