अमेरिकामा कोठा भाडाभन्दा चाइल्ड केयर खर्च दोब्बर



एजेन्सी । व्यस्त सहरहरुमा जागिरे अभिभावकहरुका लागि बालबालिका हेरचाह गर्ने काम झन्झटिलो बन्दै गएको छ । विशेषगरी मध्यम वर्गीय परिवारमा बाबुआमा दुवै जागिरे हुँदाको अवस्थामा उनीहरुलाई सन्तानको रेखदेख गर्ने काम खर्चिलो र झन्झटिलो बन्न थालेको छ ।

विशेषगरी अमेरिका, अष्ट्रेलिया जस्ता देशका ठूला सहरमा पछिल्लो समय बालबालिका हेरचाह गर्ने काम निकै खर्चिलो हुन थालेको छ ।

अमेरिकाको चाइल्ड केयर अवेयर अफ अमेरिकाको पछिल्लो तथ्यांक अनुसार सामान्यतया दुई सन्तानका अभिभावकहरुले गत वर्ष ११ वटा राज्य र कोलम्बिया जिल्लामा एक महिनाको कोठाभाडाभन्दा कम्तीमा दोब्बर रकम चाइल्ड केयर सेन्टरमा तिरेका थिए । इलिनोइस, इन्डियाना, इओवा, कान्सास, म्यासाचुसेट्स, मिनेसोट्टा, नेब्रास्का, रोड आइल्यान्ड, भर्मोन्ट र विस्कोन्सिन राज्यमा चाइल्ड केयरको अवस्था यस्तो खर्चिलो देखिएको हो ।

साथै अमेरिकाका हरेकजसो राज्यमा दुई सन्तानलाई चाइल्ड केयर सेन्टरमा राख्ने खर्च कोठाभाडा भन्दा कम्तीमा २५ प्रतिशतले बढी हुने पनि तथ्यांक छ । साथै ४५ राज्यहरु र कोलम्बिया जिल्लामा वार्षिक रुपमा राखिएको डिपोजिट रकमभन्दा बढी पुगेको पनि रिपोर्टले देखाएको छ । उक्त रिपोर्ट ४ वर्षसम्मका बालबालिकामाथि गरिएको अनुसन्धान थियो ।

साथै दुईभन्दा धेरै सन्तान हुनेहरुका लागि चाइल्ड केयरको काम वित्तीय बोझ बन्दै गरेको पनि रिपोर्टमा देखिएको बताइएको छ । अमेरिकामा देशव्यापी रुपमा बाल हेरचाहको लागि वार्षिक खर्च प्रतिबालबालिका ११ हजार ५८२ अमेरिकी डलर खर्च हुने रिपोर्टले देखाएको छ । जुन अघिल्लो वर्षभन्दा ३.७ प्रतिशतले बढी हो । जवकि अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले भने बालबालिकाको हेरचाहमा वार्षिक आम्दानीको ७ प्रतिशतभन्दा धेरै खर्च नगर्न नागरिकहरुलाई आग्रह गर्दै आएको छ ।

अमेरिकामा लाइसेन्सप्राप्त चाइल्ड केयर सेन्टरहरु गत वर्ष मात्रै १.३ प्रतिशत वृद्धि भएर ९२ हजार ८ सयको संख्यामा छन् । जसमा ४१ वटा राज्यहरुको विवरण समावेश गरिएको रिपोर्टले जनाएको छ । जवकि २०२० मा चाइल्ड केयरको संख्या घटेर ८८ हजार २ सयवटा थिए । यद्यपि हालको संख्या पर्याप्त नभएको विज्ञहरु बताउँछन् । यससँगै अमेरिकामा चाइल्ड केयर सेन्टर चलाउनु पनि चुनौतीपूर्ण रहेको बताइन्छ ।


क्लिकमान्डु