एमाले सरकारमा गएपछि फेरि गरियो जलयातायात सञ्चालन गर्ने घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सत्ता साझेदार दल बनेको प्रभाव सरकारको नीति तथा कार्यक्रममा देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ सालमा प्रधानमन्त्री हुँदा नेपालमा पानी जहाज सञ्चालन गरिने घोषणा गर्दै पानी जहाज कार्यालय समेत स्थापना गरेका थिए ।

तर, तत्कालीन प्रधानमन्त्री ओली आफ्नै घोषणा अनुसार नेपालमा पानी जहाज सञ्चालन गर्न असफल भएका थिए ।

मंगलबार सरकारले सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा फेरि जल यातायात सुरु गरिने घोषणा गरिएको छ ।

संघीय ससदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।

एमाले अध्यक्ष ओली निटक रहेका रघुवीर महासेठ एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका महासेठ पार्टी अध्यक्ष ओलीको ‘इगो रहेको’ जल यातायात सञ्चालन गर्ने कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गर्न लगाएका हुन् ।

यसअघि २०७५ सालमा महासेठ नै भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुँदा २०७५ फागुन २ गते तत्कालीन प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय उद्धाटन गरेका थिए ।

उक्त कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताएका थिए ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रमा पानी जहाज सञ्चालन गर्नु गौरबको विषय भएको महासेठको भनाइ थियो ।

यसपटक पानी जहाज सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा नसमेटिए पनि टर्मिनल भवन सहित जल यातायात सञ्चालन गर्ने विषय समेटिएको छ ।

सुनकोशीको नदी तथा नारायणी नदीमा निजी क्षेत्रले ठूलो डुंगाबाट यात्रु चलाएपछि सरकारले समेत टर्मिनल भवन सहित जलयातायात सञ्चालन गर्ने घोषणा गरिएको हो ।

हालसम्म जल यातायात कसरी सञ्चालन गर्ने भन्ने विषयमा पर्याप्त तयारी नभएपनि नीति तथा कार्यक्रमले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरेको हो ।

यस्तै, सरकारले नीति तथा कार्यक्रम मार्फत सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरिएको छ ।


क्लिकमान्डु