१० महिनामा उठ्यो लक्ष्यको ५८ प्रतिशत राजस्व, सञ्चित कोष घाटा २ खर्ब रुपैयाँमाथि



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ५८ प्रतिशतमात्रै राजस्व संकलन गर्दा संघीय सरकारको सञ्चित कोष घाटा बढ्दै गएको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा १० महिनामा ८ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ५८ प्रतिशतमात्रै हो ।

गत वर्ष बैशाख मसान्तसम्म सरकारले ७ खर्ब ९५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा गत वर्षभन्दा ७.५ प्रतिशत बढी राजस्व संकलन गर्न सकेको छ ।

जबकी, सरकारले चालू आर्थिक वर्षमा गत वर्षभन्दा ४० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्षमा सरकारले १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

आगामी दुई महिनामा पनि हालसम्मको राजस्व वृद्धिदरले निरन्तरता पाए सरकराले १० खर्ब ८६ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सक्नेछ ।

जुन लक्ष्यको ७६ प्रतिशतमात्रै हुनेछ ।

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

सरकारले १० महिनामा कर राजस्वबाट ७ अर्ब ४६ अर्ब रुपैयाँ संकलन गर्दा गैरकर राजस्वबाट ८५ अर्ब १० करोड रुपैयाँ तथा अन्य प्राप्तिबाट २२ अर्ब ३३ करोड रुपैयाँ संकलन गरेको हो ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले १० खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेको छ ।

आम्दानीभन्दा सरकारी खर्च बढी हुँदा निरन्तर संघीय सरकारको सञ्चित कोष घाटामा गइरहेको महालेखा नियन्त्रण कार्यालयका अधिकारीहरु बताउँछन् ।

बैशाख मसान्तसम्म संघीय सरकारको सञ्चित कोष २ खर्ब रुपैयाँले घाटाले गएको छ ।


क्लिकमान्डु