चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आह्वान भएको ठेक्का रद्द



चितवन । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आह्वान भएको ठेक्का रद्द भएको छ ।

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि फागुन १७ गते ठेक्का आह्वान गरेको थियो।

महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ठेक्का आह्वान गरेको थियो ।

तर, भरतपुर महानगरपालिका नगर कार्यपालिकाले मंगलबार क्रिकेट रंगशालाको ठेक्का रद्द गरेको हो ।

‘भरतपुर महानगरबाट फागुन १७ मा आह्वान गरिएको बोलपषत्र यस कार्यालयको मिति २०८१/०१/३१ को निर्णय बमोजिम रद्द गरिएको सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ’ सार्वजनिक सूचनामा भनिएको छ ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो।

महानगरपालिकाले यसअघि सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो ।

भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिने र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइने त्यतिबेला बताएका थिए । तर त्यसअघि नै ठेक्का रद्द भएको हो ।

पहिलो चरणमा रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुने जनाइएको थियो ।

यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला ठेक्का आह्वान भएसँगै निर्माण गर्ने निश्चित भएको थियो, तर ठेक्का रद्द भएको हो ।

रंगशालाको सबै काम पूरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।


क्लिकमान्डु