१ अर्ब ६८ करोडमा नारायणी नदीमा बन्दैछ सिग्नेचर पुल, प्रधानमन्त्रीद्वारा शिलान्याश



नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् ।

नारायणी किनारमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्रीले पुलको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पनि उपस्थित थिए ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले चितवन जिल्ला भरतपुर महानगरपालिका र गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने छ ।

आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ ।

पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान छ । तुंदी कन्सट्रक्सन प्रालिले पुल निर्माणको ठेक्का पाएको छ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ भने दुई वटा पिल्लर रहनेछन् । यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने छ ।

४२० मिटर लामो पुल अहिलेकै पुल छेउमा निर्माण हुँदै छ । पुरानो पुलको २०३८ सालमा निर्माण भएको थियो ।


क्लिकमान्डु