पार्टी फुटेपछि जसपा सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सोमबार यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनी नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि उनले सरकार छाडेका हुन् ।

नेपाली कांग्रेस लगायतका दलसँग नयाँ गठबन्धनको प्रयास भइरहेको चर्चाकाबीच अशोक राईले ७ सांसद लिएर पार्टी फुटाएका हुन् ।

१२ जना सांसद रहेको यादवबाट ७ जना छुटिएसँगै उनी कमजोर बनेका थिए ।

नयाँ गठन भएको जनता समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि यादवले भने सरकार छाडेका हुन् ।

त्यस्तै जसपा नेपालबाट राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।


क्लिकमान्डु