सेफ सन्तोषले झम्सीखेलमा खोले मिथिला थाली, यस्तो छ खाना सेट, कति पर्छ मूल्य ?



काठमाडौं । बेलायतबाट काठमाडौं ओर्लिएका राजुसिंह काम विशेषले जन्मघर जनकपुर जान पाएनन् । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक भेटघाट गर्न नपाएपछि जनकपुरकै मिथिला परिकार खाने अवसर भने काठमाडौंमै जुर्‍यो ।

बीबीसी मास्टर सेफ’ सन्तोष साहले ललितपुरको झम्सिखेलमा सञ्चालन गरेको ‘मिथिला थाली बाई सेफ सन्तोष साह’ नामक रेष्टुरेण्ट सिंह जस्ता धेरै मिथिला स्वादका पारखीका लागि उपयुक्त गन्तव्य बनेको छ । झमेलको उपनामले परिचित पर्यटकीय क्षेत्र झम्सिखेलमा मिथिला थाली सञ्चालन भएसँगै उपभोक्ताको भीड लाग्ने गरेको छ ।

बीबीसीको मास्टर सेफ जितेपछि विश्वभर चर्चा कमाएका सेफ सन्तोषले नेपालमै उत्कृष्ट खानाका परिकारको स्वाद पस्केर नेपालमै जम्ने निधो लिएर मिथिला थाली सुरु गरेका हुन् । झण्डै २० वर्ष विभिन्न तारे होटलमा प्रमुख सेफका रुपमा काम गरिसकेका उनले काठमाडौंलाई मिथिला थालीको स्वाद पस्किएका छन् ।

मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोषले करिब एक करोड लगानीमा ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेण्ट ‘मिथिला थाली’ सञ्चालनमा ल्याएका हुन् । सेफ साहले आफ्ना दाइ दिलीप र सेफ लक्ष्मणसँगको सहकार्यमा उक्त रेष्टुरेण्ट सुरु गरेका हुन् ।

गतवर्ष जेठ ६ गते जनकपुरबाट सुरू भएको मिथिला थालीको शाखा उपत्यकामा एक वर्षपछि सुरू गरिएको सेफ सन्तोषले बताए । ‘मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो’ उनले भने ।

आफूले बाल्यकालदेखि मिथिला संस्कृति र खानपानमा रमाएको सम्झिँदै उनले अहिले यसको प्रवर्द्धनका लागि काम गरेको सन्तोषले सुनाए ।

नेपालकै प्रसिद्ध परम्परागत रैथाने खाना मिथिला थाली खाना उपत्यकाभित्रै खान पाइने भएपछि उपभोक्ताको जनकपुर जाने चाहना काठमाडौंमै पुरा हुने भएको छ ।

‘मिथिला थाली खान जनकपुर जाने सोच बनाएको थिएँ । काठमाडौंमै खुलेपछि यहाँ आएर खाइयो’, पुतलीसडकका सञ्जय निरौलाले भने, ‘थकाली खाना खाइरहेकोमा मिथिला परिकार भिन्न र स्वादिष्ट छ, अर्गानिक पनि छ । मिथिला स्वादको आनन्द लिइरहेका छौँ ।’

काठमाडौंको माछापोखरीकी समीक्षा पराजुलीलाई पनि मिथिला थालीको स्वाद मनपरेको बताइन् । ‘खाना एक दम राम्रो छ । हस्पिटालीटी असाध्यै मनप-यो । सेफ सन्तोषले खोलेको थाहा पाएर आएर यहाँ आएको हुँ’, उनले भनिन् ।

‘कोलोनी क्वीङ्स’ सुकेधाराबाट १७ जनाको समूह पनि मिथिला थालीको स्वाद लिन झम्सिखेल पुगेका थिए । मास्टर सेफ सन्तोषको बारेमा सुनेको हुनाले रेष्टुरेण्टमा परिकारको स्वाद लिन आएको उक्त समूहको प्रतिक्रिया थियो ।

जनकपुरमा आवासीय सुविधासहित तीन करोड लगानीमा मिथिला थाली सञ्चालनमा छ । त्यही मिथिला थालीको शाखा ललितपुरको झम्सीखेलमा सुरु गरिएको हो । बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेष्टुराँ सञ्चालनमा ल्याइने सेफ सन्तोषको योजना छ ।

सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायतका परिकार राखेका छन् । साथै मिथिला थाली पाँच सय ५० अन्तर्गत चोखा, भात, घ्यू, रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेष्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । ‘हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ’, सेफ सन्तोषले भने । यति मात्रै नभएर मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरुका लागि खर्च गरिने उनले जानकारी दिए। यसअघि पनि साहले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आएका छन् ।

जनकपुरमा मिथिला थालीको प्रति थाली तीन सय पर्ने गरेको छ । जसमा १८ परिकारको मज्जा लिन सकिने सेफ दिलीप साह बताउँछन् । उनले झम्सिखेलमा पनि धेरै भन्दा धेरै मिथिला परिकार खुवाउने बताए । मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने उनको विश्वास छ ।

‘केही समयपछि हामीले केराका परिकार समेत राख्नेछौं । क्रियटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुन्छ’ उनले भने ।

आफूलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे । अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा उनको जोड छ ।’यहाँको आलुको रोटी, कडी करी लगायतलाई विश्व बजारमा लैजान सकिन्छ । भ्यालु क्रिएट गर्न सकिन्छ’, सेफ लक्ष्मणले भने ।

मिथिला थालीलाई मुलुकभित्र र बाहिर विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौंको गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ । त्यसपछि भारतको अयोध्या र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गर्ने योजना रहेको सेफ दिलीपले जानकारी दिए।


क्लिकमान्डु