म्याजिक ब्राण्डको चप्पल तथा जुत्ता उत्पादन गर्ने जय श्री कम्पनीले एकै वर्ष गर्‍यो ७७ करोडको व्यापार



काठमाडौं । म्याजिक ब्राण्डको चप्पल तथा जुत्ता उत्पादन गर्ने जय श्री पीयु टेक कम्पनीले एकै वर्ष ७७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ५२ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ५५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा ४७ प्रतिशतले व्यापार बढेको छ । सन् २०२३ मा बजारमा कम्पनीले उत्पादन गर्दै आएको जुत्ता तथा चप्पलको माग बढ्दा व्यापार बढेको जनाएको छ ।

सन् २००९ मा स्थापना भएको कम्पनीले नेपालमा विभिन्न प्रकारमा चप्पल तथा जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको जुत्ता तथा चप्पल म्याजिक ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा मात्रै वार्षिक ९ लाख जोर जुत्ता तथा चप्पल उत्पादन गर्ने क्षमताको लाइसेन्स प्राप्त गरेको छ ।

अजुज पोद्दर र राजेशकुमार अग्रवालको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

प्रतिस्पर्धात्मक बजारमा कम्पनीले विभिन्न प्रकारका डिजाइन, आकार, साइज र कलरमा जुत्ता उत्पादन गर्दै आएको छ ।

कम्पनीले जुत्ता तथा चप्पल उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गरी उत्पादन गर्दै आएको छ ।
कम्पनीले उत्पादन गरेको जुत्ता तथा चप्पल देशभर उपलब्ध छ । देशभर कम्पनीको ३२ वटा डिलर छन् ।


क्लिकमान्डु