तेस्रो त्रैमासमा युनिलिभरको उत्साहजनक पर्फमेन्स, नाफा ३०.४६% ले बढ्यो



काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको माघ–चैत अवधिमा गत आवको सोही अवधि भन्दा ३०.४६ प्रतिशत बढी मुनाफा गरेको हो ।

गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

कम्पनीले बितेको ३ महिनामा २ अर्ब ६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीको कुल खर्च १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ छ । यसमध्येको नाफाबाट १२ करोड ८८ लाख रुपैयाँ सरकारलाई कर तिर्दा कम्पनीको खुद नाफा ४८ करोड ६१ लाख रुपैयाँ हुन आउँछ ।

कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।

तेस्रो त्रैमासको प्रतिसेयर आम्दानी ५ सय २८ रुपैयाँ रहेको छ जुन गत आवको यही अवधिको भन्दा ७७ रुपैयाँ बढी हो ।

धितोपत्रको दोस्रो बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । तेस्रो त्रैमास अन्त्यमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० हजार ४ सय ५० रुपैयाँ थियो । जसअनुसार पीई रेसियो १८.३७ हुन आउँछ । यसको अर्थ कम्पनीको १ रुपैयाँ प्रतिफल पाउन दोस्रो बजारमा १८ रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्कृष्ट पर्फमेन्स गरेको कम्पनीको बिजनेस दोस्रो त्रैमासमा खस्किएको थियो । पहिलो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले दोस्रो त्रैमासमा ४२ करोड १० लाख मात्र नाफा गर्न सकेको थियो । जुन अघिल्लो आवको सोही अवधिको भन्दा ६२.२ प्रतिशत बढी र २३.८ प्रतिशत कम हो ।

यसरी कम्पनीले ९ महिनामा कुल १ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ जुन गत आवको ९ महिनाको भन्दा १५.३ प्रतिशत बढी हो ।


क्लिकमान्डु