एमसीसीको पहिलो ठेक्का लाग्यो, बुटवल सबस्टेसनको जिम्मा भारतीय कम्पनीलाई



काठमाडौं ।  एमसिए-नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टसन निर्माणका लागि लिङ्कसन इण्डिया प्रालिसंग सम्झौता गरेको छ । सबस्टेसन निर्माण ३९ महिनामा सक्ने गरी सम्झौता भएको छ ।

बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी  राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले घरेलु उपभोग, विस्तारित व्यापारिक एवम औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यो ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउने बताए ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए । उनले यो प्रसारणलाइनले सीमापार ऊर्जा व्यापारका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउन बताए ।

कार्यक्रमका क्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । ‘एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ,’ उनले भने ।

एमसिए–नेपालको सञ्चालक समितिको २०८० फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिए अनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउन नयाँ बुटवल – गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी खण्ड निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।


क्लिकमान्डु