अमेरिकामा १४ देशबाट २ अर्ब ६० करोड डलर अवैध लगानी



एजेन्सी । ग्लोबल फाइनान्सियल इन्टिग्रिटीको एक रिपोर्टअनुसार पछिल्लो २० वर्षको अवधिमा अमेरिकामा विश्वका विभिन्न देशबाट अवैध वा संदीग्ध सम्पत्तिको प्रयोग भएको पाइएको छ ।

एन्टी करप्सन डेटा कलेक्टिभसँग मिलेर ग्लोबल फाइनान्सियल इन्टिग्रिटीले सार्वजनिक गरेको उक्त रिपोर्टबारे टिप्पणी गर्दै अमेरिकी सञ्चारमाध्यम दिस टुडेले यसबारे समाचार प्रकाशन गरेको छ ।

उक्त रिपोर्टलाई उदृत गर्दै दिस टुडेले यस अवधिमा अमेरिकामा भएका त्यस्ता २५ घटनाको पहिचान गरेको छ । जीएफआई वासिङटन डिसीस्थित एक थिंक ट्यांक हो जसले अवैध वित्तीय प्रवाह, भ्रष्टाचार, अवैध ब्यापार र मनी लाउन्ड्रिङबारे खोजी गर्छ।

रिपोर्ट अनुसार २.६ बिलियन डलरभन्दा धेरै रकम यसरी अवैध रुपमा लगानी गरिएको छ । र यसका लागि क्यालिफोर्निया, फ्लोरिडा र न्युयोर्क आकर्षक सहर मान्ने गरिएको पनि रिपोर्टमा उल्लेख छ । यसरी अवैध सम्पत्ति अमेरिकाका ५० राज्यमध्ये २० सहरमा विभिन्न रुपमा लगानी गरिएको वा लुकाइएको समाचारमा उल्लेख छ ।

“मनी लन्ड्रिङ रिस्क इन कमर्सियल रियल इस्टेट : एन एनालाइसिस अफ २५ केस स्टडिज” शीर्षकमा प्रकाशित रिपोर्ट अनुसार उक्त रकम विश्वभरबाट संकलन गरी विभिन्न १४ देशबाट संदीग्ध रकम भित्र्याइएको हो । तीमध्ये इरान, उत्तर कोरिया, कजकिस्तान, रुस र मेक्सिकोको नाम उल्लेख गरिएको छ ।

र यस्ता रकम होटल, सपिङ मल, सुपरमार्केट, म्युजिक स्टुडियो लगायतका क्षेत्रमा लगानी गरिएको बताइएको छ । रिपोर्टले नाइजेरियाबाट रकम ल्याइएकोबारे उल्लेख नगरे पनि उत्तर अमेरिकी देशमा नाइजेरियाबाट अवैध रकम ल्याइएको बताइन्छ ।


क्लिकमान्डु