गुल्मीको पहिचान बन्दै ‘थोर्गेली गुड’
गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ वर्षौं पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथै विदेशमासमेत हुने गर्छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट नेपालले संयुक्त रुपमा थेर्गोली गुडको बजारीकरणको प्रयास थालेका हुन् । नार्कले विशेषगरी गुडको बजारीकरण गर्न भौगोलिक सङ्केत दिने काम गर्दै आएको छ । थानापतिका ७० वर्षीय इन्दुवर ज्ञवालीले पाँच रोपनी आफ्नो र २७ रोपनी जग्गा भाडामा लिएर उखुखेती गरेका छन् । उनले उखुबाट वार्षिक १२ हजार ६ सय लिटर उखुको रस र त्यसबाट चार हजार दुई सय लिटर खुदो बनाउँछन् । उनदे गुड र खुदो बिक्री गर्दै आएका छन् ।
मौसमअनुसार उखुको उत्पादनमा घटबढ हुने हुँदा गुड र खुदोको उत्पादनमा पनि घटबढ हुन्छ । परम्परादेखि नै उखु खेतीमा लागेका ज्ञवाली पछिल्लो वर्षमा थप व्यावसायिक बनेका छन् । गत वर्ष प्रति लिटर रु दुई सय २० मा १६ टन खुदो बिक्री गरेको बताउँछन् उनी । पछिल्लो समय उखु खेती, प्रशोधन र बजारीकरण आफैं गर्दै आएका छन् उनी ।
“विदेशबाट फर्केको छोरोले पनि अहिले फर्केर मेरै पेसा अँगालेको छ”, ज्ञवालीले भने, “गुड र खुदो बेचेर वार्षिक रु सात लाख रकम आम्दानी भयो ।” उखु खेतीबाटै घरमा आफूसहित श्रीमति, छोराबुहारीको जीविकोपार्जन राम्रोसँग भएको उनको भनाइ छ । ज्ञवालीले अहिले विभिन्न संस्थासँग मिलेर गुडको बजारीकरण गर्न थालेका छन् । तर तराईबाट भेली ल्याएर थोर्गेली गुड भन्दै कतिपयले बिक्री गरेकामा उनको गुनासो छ ।
थानापतिकै अर्का किसान शिशिरराज ज्ञवालीले अहिले खुदो र गुड खरिद गर्न ग्राहक घरमै आउने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताए । उनले कूल १५ रोपनी जग्गामा उखु लगाएका छन् । ज्ञवालीले पनि उखुको आफै प्रशोधन गरेर खुदो र गुड बनाउँछन् । “बजारीकरणको समस्या नभए पनि थेर्गेली गुडको राष्ट्रिय पहिचान बनाउनु छ”, उनदे भने, “त्यसैका लागि अहिले हामी गुणस्तर वृद्धि गर्ने अभियानमा छौँ ।” अहिले गुड र खुदोको बजार राम्रो भएकाले उत्पादन गर्न थप हौसला मिलेको ज्ञवालीले बताए । बाबुकै पालादेखि उखुखेती गरेको र व्यावसायिक खेती गर्न थालेको २० वर्ष भएको उनको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाका किसान हुमनाथ ज्ञवालीले पनि गुडमा भविष्य देखेर यस वर्षदेखि उखुखेती सुरु गरेका छन् । उखु राम्रोसँग हुर्किन पाए एउटै घारको सय रुपैयाँसम्म पर्छ ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत एवं गुडको बजारीकरणका अनुसन्धानकर्ता प्रदीप थापाले थोर्गेली गुडको विवरण सङ्कलन गरिरहेको बताए । थोर्गाको गुडले भौगोलिक सङ्केत पाएमा बजारीकरणमा सहयोग पुग्ने र त्यसका साथै भौगोलिक सङ्केत पाए उपभोक्ताको उपभोगको तथा उत्पादक विचौलियाबाट मुक्त हुने उनले बताए ।
गुल्मीमा विशेषगरी रुरुक्षेत्रको थोर्गा र छत्रकोटको दिगाममा बढी मात्रामा खुदो र गुड बनाउने गरिन्छ । गुल्मीको मुख्य प्रवेशद्वारा रिडीमा दिगाम र थोर्गाको गुड भनेर तराईबाट भेली ल्याएर गुड बिक्री गर्ने गरेको समेत पाइन्छ । थोर्गाको गुड र खुदोको माग बढी भएकाले गाउँपालिकाले पनि उखु खेतीमा जोड दिएको छ ।-रासस