०, ५, १३ र १८ प्रतिशत गरी भ्याटमा बहुदर लागु गरौं



सन् २०२१ अन्त्यतिरबाट सुभारम्भ भएको मेक इन नेपाल स्वदेशी अभियानले एउटा पहिचान मात्रै बनाएको छैन, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालाहरुलाई झक्झकाइरहेको छ । यो महाअभियानले लिएको लक्ष्य हासिल गर्न सरकार एवं निजी क्षेत्रबीचको आपसी समन्वय एवं सहकार्यबाट मात्रै सम्भव छ । र, यो अभियान सोही दिशामा अगाडि बढिरहेको छ ।

स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने मुख्य लक्ष्यका साथ अगाडि बढिरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरु आवद्ध भईसकेका छन् । स्वदेशी अभियानका सदस्य कम्पनीहरुले आफ्ना वस्तुहरुमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो गैडा अंकित लोगो प्रयोग गरिरहेका छन् । स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रबद्र्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको छ । यसका लागि स्वदेशी एवं विदेशी विभिन्न प्लेटफर्म प्रयोग गरिरहेका छौं ।

संयुक्त राष्ट्रसंघ पूँजी विकास कोषबीच सहमती गरी “अगोरा” प्लेटफर्ममा हामी आवद्ध भइसकेका छौं । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । यस प्लेटफर्ममार्फत हाम्रा स्वदेशी सदस्यहरुका वस्तुहरुलाई अन्तर्राष्ट्रिय नेटवर्कमा पुर्याउने छ । यो प्लेटफर्ममा कसरी जोडिने भन्ने विषयमा हाम्रा स्वदेशी सदस्यहरुलाई जानकारी पनि गराइसकेका छौं ।

चालू आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म सो व्यवस्था लागू हुन सकेको छैन । आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । यसका लागि नेपाल सरकारले स्वदेशी वस्तुको पहिचानका लागि एक वेबपोर्टलको निर्माण गर्नुपर्दछ । नेपाल उद्योग परिसंघले संचालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पुरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरू समेत सो पोर्टलमा समावेस गर्ने व्यवस्था कायम गरिनुपर्दछ । पोर्टलमै वस्तुको मुल्य, उपलब्ध परिमाण तथा सो को गुणस्तर समेत उल्लेख हुने व्यवस्था कायम गरि सो पोर्टलमा उपलब्ध रहेका स्वदेशी बस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कायम गर्न आवश्यक छ । यसका लागि नेपाल सरकार तथा नेपाल उद्योग परिसंघद्वारा सञ्चालित ‘मेक इन नेपाल स्वदेशी अभियान’ले तयार पारेको स्वदेशी वस्तुहरू सम्मिलित एकिकृत बीटुबी पोर्टललाई समेत उपयोगमा ल्याउन सकिन्छ । यसले स्वदेशी वस्तुहरुको प्रबद्र्धन, प्रोत्साहन मिल्ने एवं आर्थिक सुशासनका लागि समेत सहयोगी हुने हुँदा आगामी बजेटमा नै यसलाई समावेश गर्न माननीय मन्त्रीज्यूलाई पहल गर्न अनुरोध गर्दछु ।

नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरि करहरूलाई एकिकृत गर्दै सिमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मुल्य अभिबृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न परिसंघले आग्रह गरेको छ । मूल्य अभिवृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाइ यस करमा आवद्ध हुनुपर्ने न्युनतम कारोवारको सीमालाई समेत कम गरि सबै करदातालाई यसै करमा आवद्ध गरिनुपर्दछ । यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मुल्यसंग प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्ने परिसंघको विश्वास छ ।

नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरूको नेपाल गुणस्तर निर्धारण गरिएको छ, तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइन्छ । यस्तो अवस्थामा मुलुकमा कस्तो गुणस्तरका वस्तुहरू आयात भइरहेको छ भन्ने यकिन छैन । यसले स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ । स्वदेशी उद्योगहरूको संरक्षण तथा आम मानिसहरूसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरिय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापदण्ड अनिवार्य लागू गर्न आर्थिक अनुरोध गर्दछु । साथै, भारत सरकारसंग भारतीय गुणस्तर तथा नेपाल गुणस्तर एक अर्कालाई मान्य हुने गरि सम्झौता वा समझदारीका लागि पहल गर्न समेत अनुरोध गर्दछौं ।

परिसंघले विगत दुई वर्षदेखि नै बजारमा माग घट्दै गएको, उद्योगी व्यवसायीको मनोबल खस्किदै गएको, नयाँ लगानी गर्ने वातावरण नभएको बताउँदै आएका थियौं । यसको पुष्टि सरकारको तथ्यांकले समेत पुष्टि गरिसकेको छ । विद्यमान चुनौतीपूर्ण अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउँदै समृद्धिको तीब्र चाहना पूरा गर्नेतर्फ दिशानिर्देश गर्न गम्भिर भएर लाग्नुपर्ने आजको आवश्यकता छ । आगामी बजेटको स्पष्ट कार्यदिशा पनि यही हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ ।

निजी क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालन गर्न अनुमति दिन आग्रह गर्दै आईरहेका छौं । औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार (बाटो, बिजुली, पानी तथा ढल निकास) आदिको पहुँचका साथै सो क्षेत्रमा संचालनमा आउने उद्योगहरूले प्राप्त गर्ने थप सुविधा तथा सहुलियतहरूको सुनिश्चितता सरकारले गर्नुपर्दछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत घोषणा भएको यो कार्यक्रम अगाडी बढ्न सकेको छैन । नेपाल उद्योग परिसंघले प्रस्तावित शक्तिखोर वा मयुरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा संचालन गर्न नेपाल सरकार समक्ष आशय प्रस्तुत गरेको छ । निजी क्षेत्रले स्थापना गर्ने नयाँ औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगहरूले प्राप्त गर्ने सहुलियत तथा सुविधाहरूको स्पष्ट प्रावधान, वन तथा वातावरणलगायतका विषयहरुको अन्यौलताले यो प्रस्ताव अगाडी नबढेकोले यसलाई तत्काल अगाडी बढाउन अनुरोध गर्दछौं ।

औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास, रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य छ । लगानीलाई प्रोत्साहन गर्न विद्यमान कानूनहरुमा सुधार आवश्यक छ । हालै सम्पन्न लगानी सम्मेलन नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने महत्वपूर्ण सन्देश दिन सफल भएको छ । सम्मेलन अगाडी सरकारले केही कानुनहरु संशोधन गर्दै नेपाल लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको र सरकार कानुनहरुमा सुधार गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ । यो महत्वपूर्ण छ । आगामी दिनमा लगानी प्रबद्र्धन गर्न सुधार गर्नुपर्ने अन्य कानूनहरुको सुधारका लागि समेत सरकारले उच्च प्राथमिकता दिने विश्वास लिएको छु ।

स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ । आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी छ ।

सरकारी एवं सार्वजनिक संस्थासहित आम उपभोक्तलाई पनि स्वदेशी वस्तु तथा सेवाको उपभोगका लागि अभिप्रेरित गर्न आवश्यक छ । यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक सहयोग गर्न विशेष अनुरोध गर्न चाहन्छु ।

कुनै समय कुल गार्हस्थ्य उत्पादनमा करिब १४ प्रतिशत पुगेको उद्योग क्षेत्रको योगदान हाल घटेर ५ प्रतिशत तल आइपुगेको छ । परनिर्भर रहेको हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै उच्च अंकको आर्थिक बृद्धि हासिल गर्दै दीगो विकासका लागि स्वदेशी उद्योगहरुको प्रबद्र्धन अति आवश्यक छ । यसका लागि नीतिमा महत्वपूर्ण डिपार्चर हुन आवश्यक छ । साथै यस अभियानमा आवद्ध हामी सबै उद्योगीहरु पनि थप सक्रिय हुन आवश्यक छ ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले मेक इन नेपाल स्वदेशी सम्मेलनमा व्यक्त गरेको स्वागत मन्तव्य ।)


क्लिकमान्डु