भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो: नेपालमा घट्ला मूल्य ?



काठमाडौं । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध शनिबारदेखि हटाएको छ । भारतले प्रतिबन्ध हटाए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

प्रतिबन्ध हटेपछि नेपालको घरेलु बजारमा प्याजको मूल्य सस्तो हुने अपेक्षा गरिएको थियो । तर भारतले निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य अझै महँगिने व्यवसायीहरु बताउँछन् । नेपालको घरेलु बजारमा खपत हुने करिब ९० प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औषत ६० रुपैयाँ छ ।

भारतले शनिबारदेखि नै लागु हुने गरी प्याजको मिनिमम एक्सपोर्ट प्राइस(एमईपी)पनि तोकेको छ । प्रतिमेट्रिक टन प्याजलाई ४५ हजार ८ सय भारतीय रुपैयाँ एमईपी तोकिएको छ ।

भारत सरकारले गत् बर्षको अगस्तदेखि ३१ दिसम्बरसम्म प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क तोकेको थियो । यस्तै ८ दिसम्बरदेखि प्याजको निर्यातमा प्रतिवन्ध लगाएको थियो । दिसम्बरमा भारतीय बजारमा प्याजको मूल्य ८० भारतीय रुपैयाँ पुगेको थियो ।

भारतमा यो बर्ष १ करोड ९१ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ । भारतको घरेलु बजारमा मासिक १७ लाख टन प्याजको खपत हुन्छ । भारतले यो बर्ष प्याजको ५ लाख वफर स्टक राख्ने गृहकार्यसमेत सुरु गरेको छ ।

गत् बर्षको अप्रिलमा भारतको उपभोक्ता मन्त्रालयले ९९ हजार १ सय ५० टन प्याज वंगलादेश, युनाइटेड अरब इमिरेट्स, भुटान, बहराइन, मौरिसस र श्रीलंकालाई निर्यात गर्ने बिशेष व्यवस्था गरेको थियो ।


क्लिकमान्डु