डढेलो निभाउन सिम्रिकले सघाउने, हेलिकोप्टर प्रयोग गर्ने गृहमन्त्रीको प्रस्ताव



काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताएका छन् । उनले भने, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए ।

कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।

यसैबीच सरकारले जङ्गलमा लाग्ने डढेलो नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राखेको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव राखेको जानकारी दिएका थिए ।

उनले भने, ‘विकसित देशमा जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न हेलिकप्टर प्रयोग हुने गरेकोले मन्त्रीज्यूले क्याबिनेटमा यसबारे प्रस्ताव गर्नुभएको छ । साथै आगलागी पीडितलाई सरकारले दिने राहत रकम थोरै भएकोले त्यसलाई बढाउनका लागि पनि प्रस्ताव गर्नुभएको छ ।’

समिति बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले कुनै कामका लागि चार वटा रुख काट्नुपर्‍यो भने ठुलो झन्झट रहेको अवस्थामा डढेलोले जङ्गल सखाप पारेकोले सरकारलाई आवश्यक निर्देशन दिन उनले समितिलाई आग्रह गरे ।

समितिले निर्देशन दिएमा सरकारलाई काम गर्न सहज हुने उनले बताए । उनले आगलागी लगायतका विपत्तिमा परेका नागरिकलाई दिइने राहत रकम थोरै भएकोले त्यसलाई वृद्धि गर्न गृहकार्य अघि बढाएको पनि उल्लेख गरे ।


क्लिकमान्डु