इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा



काठमाडौं । इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा आयोजना हुँदैछ । शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला वैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयलबीच क्याम्पमा हुनेछ ।

यस भेला अनकन्फेरेन्स शैलीमा कुनै खाकामा नबाँधिकन सरल रूपमा सञ्चालन हुने आयोजकको भनाइ छ । यस भेलालाई संयुक्त रूपमा इकोभर्सिटिज अलायन्स, किङ्ग्स कलेज र कम्युनिभर्सिटी नेपालले आयोजना गर्दैछन् ।

इकोभर्सिटिज अलायन्स आजको मूलधारको शिक्षालाई पुनः परिकल्पना गरिनु पर्दछ भन्ने उद्देश्यले विभिन्न पहल गरिरहेका विश्वभरिका अभियन्ताहरूको समूह हो । यसमा विभन्न अभ्यासकर्ता संस्था र व्यक्तिहरु आवद्ध छन् । उनीहरू अहिले संसारमा व्याप्त आर्थिक, राजनीतिक र सामाजिक प्रणालीले पृथ्वीको विनाश गरिरहेको र मानिस लगायतका अन्य प्राणीमाथि पनि अन्याय भएको मान्दछन् ।

यसको विकल्पमा उनीहरूले एक अभियानको रूपमा आफूलाई स्थापित गराउन खोजेका छन जहाँ व्यक्ति, संस्था र समुदाय आफ्नो ज्ञान प्रणाली र सासंकृतिक काल्पनिकीमाथि दावा गरिरहेका छन् र आजको दिनको चुनौति सामना गर्न सिकाइको प्रक्रियालाई पुनः परिकल्पना गरिनु पर्दछ भन्ने कुरामा विश्वास गर्दछन् ।

विविध ठाउँ र परिप्रेक्ष्यमा सुरु भए पनि यी विभिन्न सिकाइका पहलहरू हालको शिक्षा प्रणालीको आलोचना गर्दछन् र नयाँ अभ्यास प्रस्तुत गर्दछन् । उनीहरूको अभ्यास दीगो विकासको सोच मात्र होइन पर्यावरणीय, सामाजिक र सांस्कृतिक प्रणालीलाई पुनः उत्पन्न गर्ने सोचबाट निर्देशित छ।

यस भेला इकोभर्सिटी अलाइन्सका सदस्यहरू र अन्य सहभागीहरूको सिकाइ र अभ्यास साटासाट गर्नमा केन्द्रित हुनेछ। यस भेलामा आवेदन भरेर नेपालमा पनि वैकल्पिक अभ्यास गरिरहेकाहरू वा त्यस्तो सोच राख्नेहरू सहभागी हुन सक्नेछन् । यसमा अहिलेसम्म नेपाल लगायत भारत, क्यानडा, इटाली, जापान, थाइलेडं र मेक्सिकोमा सहभागीले आवेदन भरेका छन् ।


क्लिकमान्डु