१ अर्ब लगानीमा बनिरहेको सिद्धार्थ केबलकारको काम अन्तिम चरणमा, असारबाट सञ्चालनमा आउने



काठमाडौं । रुपन्देही जिल्लाको बुटवलमा एक अर्ब ३ करोड ३० लाख रुपैयाँ लागतमा सिद्धार्थ केबलकार निर्माण भइरहेको छ । रेष्टुरेन्टसहित अन्य विभिन्न सुविधाका साथ निर्माण भइरहेको केबलकारको कार्य हालसम्ममा ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

सन् २०११ मा दर्ता भइ निर्माण भइरहेको केबलकार सन् २०२३ को मेमा पब्लिक कम्पनीमा परिणत भएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय प्राथमिकतामा परेको आयोजना निर्माणको अन्तिम चरणमा पुगेकाले आगामी जुलाई (असार-साउन)बाट व्यवसायिक कारोबार सुरु गर्ने योजना बनाएको छ ।

हालसम्ममा आयोजनाको भवन, रेष्टुरेन्ट, सौभिनियर सपसहित अन्य पूर्वाधार निर्माणको कार्य सम्पन्न भइसकेको छ ।
राजेन्द्रसिंह गुरुङको एकल लगानीमा निर्माण भइरहेको केबलकार कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड रुपैयाँको रेटिङ गराएको छ ।

केबलकार सञ्चालनमा आइसकेपछि पर्यटनहरुको आगमन बढ्ने अपेक्षा गरेको छ । केबलकारको माथिल्लो स्टेशन नुवाकोट हिलमा हुनेछ भने तल्लो स्टेशन देउराली डाँडामा हुनेछ ।


क्लिकमान्डु