कुन बैंकले ब्राण्डिङमा कति खर्च गरे ?



काठमाडौं । नेपाली विज्ञापन बजारमा बैंकिङ क्षेत्रको हिस्सा राम्रो मानिन्छ । अनलाइन, पत्रपत्रिका, टेलिभिजन लगातमा बैंकहरुका प्रचार सामग्री प्रकाशन र प्रशारण भएको पाइन्छ ।

बैंकहरुले संस्था र विभिन्न प्रडक्टहरुबारे जानकारी दिन देशका विभिन्न भागमा होडिङ बोर्ड लगायतबाट पनि जानकारी एवं सूचना प्रवाह गरिरहेका हुन्छन् । त्यस्ता बोर्डमा बैंकले ल्याएका अफर, दिने सेवासहित विज्ञापन देखिन्छ ।

यसरी प्रचार प्रसार गर्ने बैंकहरुले ब्राण्डिङका लागि हुने आफ्नो खर्च बढाउँदै लगेका छन् । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा २० वाणिज्य बैंकले ब्राण्डिङमा गरेको खर्च २५.६५ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८४ लाख ८७ हजार १५६ रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा बैंकहरुले ब्राण्डिङबापत गरेको खर्च १ अर्ब २९ करोड ५९ लाख ४८ हजार २६६ रुपैयाँ रहेको थियो ।

२० बैंकमध्ये ४ वटा बैंकले ब्राण्डिङमा गर्ने खर्च घटाएका छन् भने अरुले बढाएका छन् । स्टयान्डर्ड चार्टर्ड बैंकले १२.१० प्रतिशतले घटाएर २ करोड ८३ लाख ८६ हजार ३५ रुपैयाँ रहेको छ ।

यस्तै कृषि विकास बैंकले ब्राण्डिङ बापत गर्ने खर्च १८.६३ प्रतिशतले घटाएर ३ करोड ९३ लाख ५९ हजार रुपैयाँमा सीमित बनाएको छ ।

यस्तै सिद्धार्थ बैंकको ब्राण्डिङ बापतको खर्च ०.६१ प्रतिशतले घटेर ३ करोड २६ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । २०७९ असार मसान्तमा ब्राण्डिङबापत २ करोड ४२ लाख ३० हजार रुपैयाँ खर्च गरेको कुमारी बैंकले अहिले ३२.५८ प्रतिशतले घटाएर १ करोड ६३ लाख ३४ हजार रुपैयाँमा सीमित गरेको छ ।

ब्राण्डिङमा २०८० असार मसान्तसम्म सबैभन्दा बढी खर्च गर्नेमा एनआईसी एशिया बैंक रहेको छ भने सबैभन्दा कम प्राइमको रहेको छ ।

एनआईसीले ३५ करोड ३५ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । ब्राण्डिङमा धेरै खर्च गर्ने दोस्रो बैंकमा प्रभु रहेको छ । प्रभुले २८ करोड ६३ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले १२ करोड २९ लाख ३७ हजार, एनएमबि बैंकले १० करोड ३३ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । यी सबै बैंकले ब्राण्डिङमा गर्ने खर्च बढेको छ ।

यस्तै हिमालयन बैंकलले ९ करोड ७ लाख ७३ हजार, लक्ष्मी सनराइज बैंकले ८ करोड १ लाख ७८ हजार, सानिमा बैंकले ७ करोड ३९ लाख ६३ हजार, नबिल बैंकले ७ करोड ३६ लाख ९७ हजार, एनएमबि बैंकले ६ करोड ७५ लाख ३२ हजार, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड ७५ लाख २ हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै एभरेष्ट बैंकले ५ करोड १५ लाख ५९ हजार, सिटिजन्स बैंकले ४ करोड ६४ लाख ९१ हजार, माछापुच्छ्रे बैंकले ४ करोड २३ लाख १५ हजार, नेपाल बैंकले ४ करोड १५ लाख र नेपाल एसबिआई बैंकले ६१ लाख १ हजार र प्राइम बैंकले ३९ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु