रारामा अष्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट बनाउने समझदारी, १ अर्ब बढी लागत



काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए ।

समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

“यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीव्रता दिनेछौं र आगामि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं” उनले भने ।

उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताए । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ हुने बताएको छ ।

राधा होल्डिंगसले एनआरएनसँगको संयुक्त लगानीमा होटल निर्माण गर्ने भएका हुन् । अष्ट्रेलियामा कार्यरत एनआरएनहरुले खोलेको एक्सपर्ट ग्रुपसँग मुगुको मोर्माटपमा होटेल खोल्ने सम्झौता गर्न लागेको लगानी बोर्डका एक उच्च अधिकारीले जानकारी दिए ।


क्लिकमान्डु