चक्रपथमा आधुनिक टर्मिनल र स्टपसहित ७० इलेक्ट्रिक बस सञ्चालनको योजना



काठमाडौं । काठमाडौंको चक्रपथमा इलेक्ट्रिक र्‍यापिड बस ट्रान्जिट सिस्टम (ईआरबीटीएस) सञ्चालनका लागि लगानी सम्मेलनमा आयोजना शोकेसमा राखिएको छ ।

सरकारले सार्वजनिक सवारीसाधन भरपर्दो बनाउन इलेक्ट्रिक र्‍यापिड बस ट्रान्जिट सिस्टम सञ्चालनको तयारी गरेको हो । तर लगानी जुटाउन नसक्दा यो आयोजना अघि बढाउन सकेको छैन । यस अघिको लगानी सम्मेलनमा पनि यो आयोजना शोकेस गरिएको थियो । तर लगानी आउन सकेन । यस पटकको लगानी सम्मेलनमा पुन: लगानी खोज्नका लागि यो आयोजनालाई शोकेसमा राखिएको हो ।

लगानी बोर्डको कार्यालयले अघि आशयपत्र मार्फत टेण्डर समेत निकालेको थियो ।

पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार ७० वटा इलेक्ट्रिक बसहरु सञ्चालन हुनेछन् । यसले सहज पहुँच यात्रा अवधि घट्ने र दिगो शहरी पूर्वाधार विकासलाई सघाउनेछ । २७.३ किमी काठमाडौंको भित्री रिङरोडमा सञ्चालन हुने बसहरुले काठमाडौं उपत्यकामा दिगो सार्वजनिक यातायात विकास गर्ने सरकारको सोचलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो बस सेवाले १ लाख ५४ हजार ५४५ देखि २ लाख ४० हजार २१५ जना सम्म यात्रुले सेवा पाउनेछन् । ८ लेनको चक्रपथको बीचको सेन्ट्रल दुई लेनमा बस सञ्चालन हुनेछ। जिम्मा पाउने कम्पनीले चार्जिङ स्टेसन निर्माण पनि गर्नुपर्नेछ । सँगै आधुनिक बस टर्मिनल र स्टेसनहरु निर्माण हुनेछन् । २६ देखि ३० वटा बस स्टेसन निर्माण हुनेछन् ।

१६ अर्ब ८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । इन्टर्नल रेट अफ रिर्टन १०.६२ प्रतिशत छ ।

पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) र निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्न सकिनेछ लगानी बोर्डको कार्यालयले जनाएको छ । यो आयोजनाको प्रि-फिजिविलिटी पूर्व-सम्भाव्यता अध्ययन भइसकेको छ । अब सम्भाव्यता अध्ययन र र बाकी आयोजना विकासको काम गर्नुपर्नेछ ।


क्लिकमान्डु