दुलही झैं सजियो गुराँसको राजधानी (फोटो फिचर)



तेह्रथुम । तिनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्र यतिबेला गुराँसले दुलही झैं सजिएको छ ।

नेपालमा जम्मा ३२ प्रजातिका गुराँस पाइन्छन् भने गुराँसको राजधानी भनेर चिनिने टीएमजे क्षेत्रमा २९ प्रजातिका गुराँस पाइन्छन्।

टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङको ३ जिल्लाको संगम स्थल हो । यस क्षेत्रको हावापानीमा विविधता छ जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।

यस क्षेत्रमा रातो, रातो-सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा गुराँस फुल्छन् । २ देखि ६० फिट अग्ला गुराँसका रुखले यो क्षेत्रको वन ढाकेको छ । समुद्री सतहबाट १७ सयदेखि ५००० मिटरसम्मको उचाइमा फैलिएको यो क्षेत्रमा गुराँस फुल्ने सिजन चैत बैशाखमा पर्यटकको घुईंचो लाग्छ ।

यस क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल, कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ ।

त्यस्तै, पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ, हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस पाइन्छन् ।

सन् २०१२ मा सरकारले गुराँसलाई राष्ट्रिय फुल घोषणा गरेपछि यस क्षेत्रका गुराँसको संरक्षणमा जोड दिइएको छ ।


क्लिकमान्डु