रोल्पामा सुन निकाल्न लगानीकर्ता खोज्दै सरकार



काठमाडौं । सरकारले लगानी सम्मेलनमा सुन खानी उत्खनन गरि सुन निकाल्न लगानीकर्तालाई खोजेको छ ।

लगानी बोर्ड नेपालले तयार गरेको आयोजनाको सूचीका अनुसार बैशाख १६ तथा १७ गते काठमाडौमा आयोजना हुन गइरहेको तेस्रो लगानी सम्मेलनमा सरकारले रोल्पा जिल्लाको सुनछहरे गाउँपालिकास्थित सुन खानी उत्खनन गर्न विदेशी/ निजी लगानीकर्ताको खोजी गरेको हो ।

लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा जिल्लाको सुनछहरी गाँउपालिका उक्त स्थानमा रहेको प्रसिद्ध सुनछहरी झरनाको नामबाट नामाकरण भएको हो । उक्त गाउँपालिकाको ढोकाढुंगा भन्ने स्थानमा सुन खानी रहेको खानी तथा भूगर्भ विभागको अनुमान छ ।

यसअघि २०७७ सालमा पनि खानी तथा भूगर्भ विभागले सूचना प्रकाशित गरि निजी क्षेत्रलाई उक्त क्षेत्रमा उत्खनन गर्न आह्वान गरेको थियो । सुन खानी उत्खनन गर्न ३० वर्गकिमी क्षेत्र उपलब्ध हुने जनाइएको छ ।

रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि ४८ किमि उत्तरी पूर्व भागमा पर्ने सुनछहरी गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ।

सुन खानीसम्म जान सडकमार्ग सहज रहेको तथा उक्त क्षेत्रमा अन्य धेरै बहुमुल्य खनिज पदार्थ पनि रहेको खानी तथा भूमर्ग विभागको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु