एमाले निकटको उद्योग व्यवसायी महासंघका अध्यक्षमा सापकोटा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव थिए ।

महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । शिवाकोटी मेगा बैंकका पूर्वसञ्चालक तथा कालिन्चोक केवलकारका अध्यक्ष हुन् भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरु यो महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको उक्त महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्था सदस्य रहेका छन ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिवेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।


क्लिकमान्डु