रोजगारी खोज्दै चैतमा ७१ हजार नेपाली विदेशिए, बढ्दैछ विदेश पलायन हुनेको संख्या



काठमाडौं । रोजगारीको खोजी गर्दै चैत महिनामा ७१ हज़ार नेपाली विदेशिएका छन् । वैदेशिक रोज़गार विभागको तथ्याङ्कअनुसार चैत महिनाको रोजगारीको खोजी गर्दै ७० हजार ९ सय ३३ जना नेपाली १०१ देशमा पुगेका छन् ।

चैत महिनामा विदेशिएका उक्त संख्या मंसिरपछिकै उच्च हो । चालु आर्थिक वर्षको तथ्याङ्कमा मंसिरमा सबैभन्दा बढ़ी नेपाली रोजगारीको खोजीमा विदेशिएका थिए । मंसिरमा नेपालबाट ७१ हजार २७६ जना विदेशिएका थिए ।

त्यसपछि अन्य महिनामा ७० हज़ार नेपाली एक महिनामा विदशिएका थिएनन् । चैत महिनामा ६४ हज़ार २४१ जना पुरुष र ट हजार ६९२ गरी करिब ७१ हज़ार नेपाली विदेशिएका छन् ।

नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका थिए ।

विभागअनुसार चैतमा नेपाली युवाहरुको आकर्षक गन्तव्य युएइ बनेको छ । चैतमा मात्रै १७ हज़ार ८१८ जना नेपाली युएइ पुगेका छन् ।

त्यसैगरी साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेका छन् ।

युरोप मुलुक रोमनियामा २२ सय ९९ जना, क्रोसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १३ सय ५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि पुगेका छन् ।

तथ्यांकअनुसार चैत महिनामा ५१ हजार ३२८ जना दक्ष कामदार विदेशिएको विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कमा चैतमा ६६ जना उच्च दक्ष, प्रोफेशनल ४८२ जना, अर्धदक्ष ५ हजार ६८४ जना र १३ हजार ३७३ जना अर्धदक्ष कामदार विदेशिएका छन्।


क्लिकमान्डु