पेशाप्रति इमान्दार बन्न लेखा व्यवसायीलाई मन्त्री भण्डारीको सुझाव



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लेखा व्यवसायीको सहयोग बिना मुलुकको आर्थिक क्षेत्रको विकास नहुने औल्याएका छन् ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको सस्टेनेवल एकाउन्टिङ प्राक्टिसेस बिषयक तेश्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको उदघाट्न गर्दै मन्त्री भण्डारीले बिहिबार यस्तो औल्याएका हुन् ।

सफल मानिएका व्यवसायमा गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्त प्रयोग नहुँदा त्यस्ता व्यवसाय सदाको लागी बन्द भएको उदाहरण दिदैं मन्त्री भण्डारीले यो पेशामा आवद्ध लेखा व्यवसायीले आचरण, इमान्दारीता, पेशागत सक्षमता र स्वतन्त्रताजस्ता आचार संहिताको आधारभुत सिद्धान्तलाई ध्यानमा राखेर काम गर्न सुझाव दिएका छन् ।

सक्षम अर्थतन्त्रको विकासको लागि उद्योगी व्यवसायीहरुको आत्मवल बढाउँदै नयाँ आर्थिक अवसरहरुको सिर्जना गर्न आवश्यक रहेको बताउँदै उनले यसले गर्दा अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै अर्कोतर्फ मुलुकभित्रै रोजगारीको अवसरहरु सिर्जना हुने विश्वास व्यक्त गरे ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आईक्यान) को अध्यक्ष सिए सुजनकुमार काफ्लेको सभापतित्वमा भएको उक्त सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर सिए माहाप्रसाद अधिकारीलगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय सर्वोच्च संस्था इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट (आइफ्याक) की अध्यक्ष आश्मा रेश्मौकीसमेत उपस्थिति थियो ।


क्लिकमान्डु