कोकाकोलाले नेपालमा ६ अर्ब ७० करोड नयाँ लगानी गर्ने, डिज्नील्याण्डले नयाँ कम्पनी खोल्दै



बासिङ्टन डिसी, अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ ) लगानी गर्ने तयारी गरेको छ ।

द कोकाकोला कम्पनीको ग्लोबल पब्लिक पोलिसी एण्ड सस्टेनेबिलिटीका उपाध्यक्ष माइकल गोल्जम्यानले नेपालमा ५ करोड डलर ग्रिनफिल्ड इन्भेष्टमेन्ट (पूर्णनयाँ परियोजनामा लगानी) गर्न लागेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सरकारले जग्गा प्राप्ति लगाएतका क्षेत्रमा सहजीकरण गरे कोकाकोलाले नेपालमा ५ करोड डलर लगानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको गोल्जम्यानले बताए ।

‘स्टेबल रेगुलेरी वातावरण बनाउनु पर्छ भन्ने हाम्रो माग हो । कोकाकोला नेपालमा लगानी गर्ने पहिलो अमेरिकन कम्पनी हो,’ गोल्जम्यानले भने, ‘हामीहरुले नेपालमा व्यवसाय गरेको ५० वर्ष पुगेको छ । हामीहरु थप १५० वा त्यो भन्दा बढी समय नेपाल बस्न चाहँन्छौँ । त्यसका लागि सरकारले स्थिर वातावरण बनाउनु पर्छ ।’

कोकाकोलाले करिब ३० बिगा जग्गा खरिद गरेर नेपालमा लगानी गर्ने योजना बनाए पनि कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा खुलाउन चाहेन ।

भेटमा अर्थमन्त्री पुनले सरकारका तर्फबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

भेटका क्रममा वाल्ट डिजनीका जो वेल्चले डिजनी र हटस्टार सेवा दिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो कम्पनी दर्ताको क्रममा रहेको बताए ।

‘हाम्रो कम्पनी दर्ताको क्रममा छ । नेपाली बजारमा हामीले धेरै अवसर देखेका छौँ,’ वेल्चले भने, ’स्थिर वातावरण भयो भने हामीहरु लगानी थप गर्ने योजनामा छौँ ।’


शरद ओझा