भाडाको रकम बुझाउन खाद्य संस्थानद्वारा युटिएललाई तेस्रो पटक ताकेता



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को सम्पत्ति लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।

खारेजीमा परेको युटीएलले कम्पनीको गोदाम भाडा वापतको रकम तिर्न आनाकानी गरेपछि खाद्य कम्पनीले सम्पत्ति लिलामी गरेर आफ्नो रकम असुल गर्न आवश्यक प्रक्रिया अघि बढाएको हो ।

खाद्य कम्पनीले सूचना जारी गर्दै उक्त कम्पनीलाई सम्पर्कमा आउन वैशाख ४ गते तेस्रो पटक सूचना प्रकाशित गरेको हो । खाद्य कम्पनीले अहिले अन्तिम पटक सात दिने सूचना जारी गरेको हो ।

कम्पनीकी प्रवक्ता शर्मिला न्योपानेका अनुसार तेस्रो पटकको सूचनालाई पनि अटेर गरिए उक्त कम्पनीको सम्पति लिलामी गरेर रकम असुल गर्ने जानकारी दिइन् ।

द्विपक्षीय सम्झौता प्रक्रियामार्फत गोदाम भाडामा लिएको युटीएलले भाडा वापतको बक्यौता रकम तिर्न अटेरी गरेकाले उक्त रकम असुल गर्न कम्पनीले कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रिया अघि बढाएको हो ।

‘हामीले सम्झौता भएको समयदेखि नै गोदामको भाडावापतको रकम उपलब्ध गराउन दर्जनौं पटक पत्राचार गर्‍यौं,’ न्योपानेले भनिन्,‘तर अटेरीपन देखाएर हालसम्म त्यो कम्पनी सम्पर्कमा आएको छैन । हामीसँग अब कुनै विकल्प नभएपछि उक्त कम्पनीको सम्पत्ति नै निलामी गरेर भए पनि रकम असुल गर्ने प्रक्रिया अघि बढाएका छौं ।’

यसका लागि कम्पनीले पहिलो चरणअन्तर्गत ३० दिने सूचना जारी गरेको थियो । यो ३० दिने सूचना अवधिमा पनि युटीएलले बक्यौता वापतको रकम उपलब्ध गराउन चासो नदेखाए पछि पुनः १५ दिनको सूचना जारी गरिएको थियो । दोश्रो पटकको सूचना अनुसार पनि युटिएलले रकम बुझाउन अटेर गरेपछि मंगलबार तेश्रो पटक ७ दिने सूचना प्रकाशित गरेको छ ।

‘अन्तिम पटकको अवधीमा पनि भुक्तानी दिन चासो नदेखाए नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा गोदाममा रहेको त्यो कम्पनीको सम्पत्ति मूल्यांकन गरी रकम असुल गर्छौं,’ न्योपानेले भनिन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाका अनुसार युटीएलले ललितपुर महानगरपालिका वडा नम्बर ४ को नख्खुस्थित कम्पनीको स्वामित्वको गोदाम नम्बर ८ भाडामा लिएको थियो ।

युटीएलले २०७५ साउन ४ गतेदेखि उक्त गोदाम भाडामा लिने गरी सम्झौता गरेको थियो । त्यसबापत ५५ लाख ९८ हजार ६ सय ४२ रुपैयाँ युटिएलले तिर्न बाँकी छ ।

गोदाम भाडामा लिएको दिनदेखि युटीएलले भाडा रकम उपलब्ध गराउन आनाकानी गर्दै सम्पर्कमा समेत नआएपछि सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाउन लागिएको कम्पनीले जनाएको छ ।

थापाका अनुसार कम्पनीका अनुसार भाडा रकम उपलब्ध गराउन धेरै पटक पटक प्रयास गरेपनि युटीएल सम्पर्कमा नआउदा २०७८ पुस २३ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहको रोहवरमा उक्त गोदाम खोलिएको थियो ।

गोदाममा भएको मालवस्तुको मुचुल्का प्रमाणित गरी सुरक्षित रुपमा राखिएको थापाले जानकारी दिइन् । उनका अनुसार गोदाममा तार र पोलहरु मात्रै रहेका छन् । खाद्य कम्पनीले उक्त सामान निलामी गर्दासमेत सम्पूर्ण बक्यौंता रकम असुल हुन नसक्ने जनाएको छ ।

‘गोदाममा केहि संख्यामा तारहरुको व्याण्डल र पोलहरु रहेका छन्,’ थापाले भनिन,‘कानूनी प्रक्रिया अनुसार निलामी गर्दा पनि बक्यौंता रहेको सम्पूर्ण रकम असुल हुन नसक्ने अवस्था सिर्जना भएको छ । असुल गर्न बाँकी रहने रकम असुलका लागि थप आवश्यक प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा अघि बढाउने गृहकार्य गरेका छौं ।’

करिब सात वर्ष लाइसेन्स होल्ड गरेर बसेको युनाइटेड टेलिकम (युटिएल) को रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नियामक दूरसञ्चार प्राधिकरणले पनि उक्त कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

दूरसञ्चार प्राधिकरणले गत कात्तिकमा सूचना जारी गर्दै युटीएलको अनुमति खारेज गरेको थियो । त्यसअघि युटीएल सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले युटीएलको विपक्षमा फैसला दिएको थियो । युटीएलबाट सरकारले ५ अर्ब रुपैयाँ असुल गर्न बाँकी छ ।


क्लिकमान्डु