५ महिनाअघि इजरायल गएको न्यारोबडी आउने टुंगो लाग्यो, अस्तव्यस्त उडान व्यवस्थापन सहज हुने



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको मर्मतमा गएको एउटा न्यारोबडी जहाज ५ महिनापछि बल्ल आउने भएको छ । निगमको १५८ सिट क्षमताको ९ एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक उक्त जहाज इन्जिन परिवर्तन गर्न इजरायलमा रहेको छ ।

इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आईएआई)मा मर्मत भइरहेको उक्त जहाज आगामी १० वैशाखमा मर्मत सकेर आउने तय भएको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । पौडेलका अनुसार जहाजको मर्मत करिब सकिएको र जहाज निर्माता कम्पनीले आवश्यक चेकचाँज सकेर २२ अप्रिलमा जहाज उपलब्ध गराइदिने जानकारी दिएको छ । उक्त जहाज काठमाडौं आएपछि नियमति उडानमै प्रयोग हुने उनले बताए ।

निगमको यो जहाज व्यवस्थापनको हेलचेक्राइँका कारण लामो समयदेखि थन्किएको आरोप लागेको छ । वायुसेवा निगमको एउटा जहाज इजरायालमा थन्किएकोले अरु तीनवटाबाट उडान व्यवस्थापन मिलाइरहेको निगमको भनाइ छ ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज निर्माता कम्पनीले धोका दिएका कारण समयमै मर्मत भएर आउन नसकेको स्वीकार गर्छन् । ‘यो जहाज ढिलो आउनुमा निगमको कमी कमजोरीले भन्दा पनि निर्माण कम्पनीले दिएको धोका हो’ उनले भने ।

आईएआइले जहाज मर्मत गर्नेदेखि इन्जिन भाडामा दिनेसम्मको जिम्मा पाएको छ । निगमले सार्वजनिक प्रस्ताव मागेर उपर्युक्त छनोट गरेर दिएको जिम्मेवारीमै पनि धोका दिएको बुझाइ निगमको छ । यो कम्पनीले यस अघि पनि पटक पटक जहाज मर्मत गरेर दिने भएको समयमा दिन सकेको छैन ।

निगकाअनुसार आईएआइले जहाज मर्मतमा ढिलाइ गरेपछि क्षतिपूर्ति दिने बचन दिएको छ । उक्त क्षतिपूर्ति कति र कस्तो अवस्थामा भन्ने विषयमा भने अहिले नै खुलेको छैन ।

निगमकाअनुसार पहिले जहाज मर्मत भएर आएपछि त्यसले उडान गर्दै जान्छ भने त्यसपछि निगमले चाल्नुपर्ने प्रक्रिया पनि अगाडि बढाउँछ । अहिले आईएआइले जहाज नदिएको कारण निगमको शाखमा नै प्रश्न उठाउने बाटो भएको छ ।
जबसम्म निगमसँग जहाज मर्मत भएर आउँदैन तबसम्म निगमलाई नै असहज अवस्था सिर्जना भएको तर्क पनि निगमकै उच्च अधिकारीको छ ।

वायुसेवा निगमको उक्त न्यारोवडी जहाज थन्किएर बस्दा निगमको यो वर्षको ब्यालेन्स सीटमै असर पर्ने भएको छ । एउटा जहाज करिब आधा वर्ष थन्कदा निगमको उडान शाखमै धक्का लाग्न पुगेको छ । निगमको यो जहाज थन्कदा करिब सवा तीन अर्ब रुपैयाँ घाटा भएको पनि निगमकै उच्च अधिकारीको भनाइ छ ।

निगमको यो जहाज काठमाडौं विमानस्थमै दुई महिना थन्किएपछि इन्जिन परिवर्तन गर्न इजरायल लगिएको हो । इजरालय गएको पनि तीन महिना पुग्नै लागेको छ । निगमको लुम्बिनी नामक उक्त जहाजले उडान गर्न नपाउँदा निगमलाई दैनिक करिब १ करोड ६ लाख रुपैयाँ घाटा भएको छ । यस्तो घाटा मासिक ६६ करोडका दरले जोडिदै गएकोले हालसम्म निगमको आम्दानी यो जहाज थन्किएकै कारण ३ अर्ब ३० करोड रुपैयाँ औषतमा घाटा भएको वायुसेवा निगमकै एक उच्च अधिकारीले हिसाब सुनाए ।

निगमको कमाइ गर्ने उक्त जहाज समयमा नै मर्मत सकेर आउन नसक्दा चालु आर्थिक वर्षमा हुने कुल नाफामा असर गर्छ । यसले गर्ने नाफा जहाजमा गर्नुपरेको खर्च र उडान गरेर कमाउन नपाएका कारण पक्कै कम हुने भएको छ ।
निगमले गत आर्थिक वर्ष २०७९/८० मा करिब २२ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो । निगमले आर्थिक वर्ष २०७८/७९ मा गरेको यस्तो आम्दानी १६ अर्ब ४६ करोड रुपैयाँ थियो ।

वायुसेवा निगमले भने आईएआइबाटै जहाजको इन्जिन भाडामा लिएर उसैबाट मर्मत गर्न लगाएको हो ।निगमले एउटै कम्पनीबाट जहाजको इन्जिन भाडामा लिने अनि उसैलाई मर्मत गर्न दिने जिम्मा दिएको थियो । निगमसँग अरु विकल्प नभएकोले यही कम्पनीले ढिलो छिटो जे गरे पनि पर्खनुपर्ने बाध्यताका कारण पनि इन्जिन फेर्न गएको जहाज ५ महिनासम्म उतै रहेको बुझाइ पनि निगमकै कर्मचारीको छ ।

निगम नेतृत्वले समयमै निर्णय गर्न नसकेको, विकल्प खोज्न नसकेको, जसको इन्जिन भाडामा लिएको उसैबाट मर्मतमा धोका पाउँदा पनि व्यवस्थापन चुपचाप बसेको अरोप लागेको छ । अहिले जहाज दिएपछि वायुसेवा निगमले सोही कम्पनीसँग जहाज मर्मतको काम नगर्ने र कम्पनी फेर्ने गृहकार्य गरिरहेको दाबी पनि गरेको छ ।

निगम नेतृत्वले छिटो इन्जिन मर्मतमा गरेर ल्याउने विषयमा गरेको कमजोरको परिणाम अहिले भोग्नुपरेको हो । पहिले कम्पनी छनोट गर्दा राम्रोसँग अध्ययन र मूल्यांकन नभएको कारण पनि अहिले निगमले घाटा खानुपर्ने गरी जहाज थन्किएको निगमका एक उच्च अधिकारी बताउँछन् ।


क्लिकमान्डु