निगमको एउटै जहाजले साढे २ अर्ब डुबायो, ४ महिनादेखि जहाज थन्किँदा निगमको ब्यालेन्ससीटमै असर



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वको चरम हेलचेक्राइँका कारण एउटै जहाजले साढे २ अर्ब रुपैयाँभन्दा बढी घाटा पुर्‍याएको छ ।

वायुसेवा निगम नेतृत्वले समयमा नै निर्णय नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा २ महिना थन्किएर इन्जिन परिवर्तन गर्न इजरायल गएको एउटा न्यारोबडी जहाज करिब साढे ४ महिनादेखि फर्किएको छैन ।

१५८ सिट क्षमताको ९ एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक उक्त जहाज इन्जिन परिवर्तन गर्न इजरायलको इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आईएआई) गएको २ महिना भैसकेको छ । उक्त जहाजले इन्जिन निर्माण कम्पनी आईएआईको इन्जिन भाडामा लिएर आफूसँग भएको इन्जिन मर्मत गर्न छोडेको थियो ।

आफ्नै इन्जिन उक्त कम्पनीले नबनाइदिएको र निगम व्यवस्थापले समयमा नै उपयुक्त निर्णय गर्न नसक्दा ४ महिनासम्म एउटा न्यारोबडी थन्किँदा मात्रै करिब २ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी घाटा लागिसकेको छ ।

यो जहाज अझै ३ साताभन्दा छिटो नआउने निगमकै उच्च अधिकारीको भनाइ छ । निगमले जति ढिलो जहाज ल्याउनमा समय खर्चन्छ, घाटा उति धेरै हुन्छ।

निगमले अहिले पनि एउटा न्यारोबडी उडाउन नसक्दा दैनिक १ करोड ६ लाख भन्दा बढी घाटा छ । मासिक ६६ करोड औषतका दरले ४ महिनामा २ अर्ब ६४ करोड रुपैयाँ निगमलाई घाटा भइसकेको निगमकै उच्च अधिकारीले क्लिमान्डुलाई जानकारी दिए ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलकाअनुसार एउटा न्यारोबडी जहाज नहुँदा उडानमा केही असर परेको भए पनि निगमले व्यवस्थापन मिलाएको छ ।

उनका अनुसार इन्जिन निर्माता कम्पनीले नै ढिलो गरेका कारण समयमा नै उक्त जहाज ल्याउन नसकिएको हो । जसका कारण केही उडान प्रभावित भएको छ भने यसले गर्ने उडान वापतको आम्दानी नहुँदा घाटाको रुपमा स्वीकार्नुपर्ने उनले बताए।

तर, जहाज समयमा नै बनाएर भित्र्याउन नसक्दा निगमको चालु आर्थिक वर्षको व्यालेन्ससीटमै असर पर्ने भएको छ । वायुसेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुन इन्जिन मर्मत गर्न गएको जहाज इन्जिनकै कारण फर्कन ढिलो भएको बताउँछन् । उनका अनुसार जहाज नै नउडेपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणमा यसको असर पक्कै देखिने छ ।

निगमले गत आर्थिक वर्ष २०७९/८० मा करिब २२ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा गरेको यस्तो आम्दानी १६ अर्ब ४६ करोड रुपैयाँ थियो ।

लगातार ४ महिनासम्म निगमको एक न्यारोबडी थन्किएकेको र अझै कम्तिमा ३ साता नआउने भएकोले यो वर्ष आम्दानी गत वर्षको तुलनामा ३ अर्ब रुपैयाँले घट्न सक्ने अनुमान निगमकै उच्च अधिकारीको छ ।

‘निर्माता कम्पनीले नै इन्जिन उपलब्ध गराएन । बनाउन छोडेको हाम्रो जहाजको इन्जिन पनि बनाएर दिन ढिलो गरिदियो,’ निगमका प्रवक्ता पुनले भने, ‘अहिले उक्त जहाजको लागि आवश्यक पाटपूर्जा पाइसकिएकोले अब त्यसलाई एसेम्बल गरेर ल्याउने तयारी भइसकेको छ ।’

निगमले जहाज मर्मतमा वास्तै नगरेको भने नभएको भन्दै उनले प्राविधिक कारण समयमै ल्याउन नसकिएको बताए ।

जसको इन्जिन भाडामा उसैबाट मर्मत गर्दासमेत धोका

नेपाल वायुसेवा निगमले युवराज अधिकारीले नेतृत्व सम्हालेपछि निगमको इन्जिन मर्मतको कम्पनी परिवर्तन गरेको हो । यस अघि सिंगापरको एसटी एरोस्पेसमा हुँदै आएको इन्जिनको मर्मत पछिल्लो एक वर्षदेखि इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आइएआई) मा हुँदै आएको छ ।

निगमले एउटै कम्पनीबाट जहाजको इन्जिन भाडामा लिने अनि उसैलाई मर्मत गर्न दिने जिम्मा दिएको थियो । निगमसँग अरु विकल्प नभएकोले यही कम्पनीले ढिलो छिटो जे गरे पनि पर्खनुपर्ने बाध्यताका कारण पनि इन्जिन फेर्न गएको जहाज साढे ४ महिनासम्म उतै रहेको बुझाइ पनि निगमकै एक उच्च अधिकारीको छ ।

निगम नेतृत्वले समयमै निर्णय गर्न नसकेको, विकल्प खोज्न नसकेको, जसको इन्जिन भाडामा लिएको उसैबाट मर्मतमा धोका पाउँदा पनि व्यवस्थापन चुपचाप बसेको अरोप लागेको छ ।

निगमका अधिकारी भने जहाजको इन्जिन नै नपाएर समस्या भएको भन्दै पन्छाउँछन् । निगमका अनुुसार अब जति समय इन्जिन रोकिदा घाटा लागेको छ त्यसको क्षतिपूर्ति दावी हुन्छ ।

निगम स्रोतका अनुसार अहिले मर्मत भइरहेको जहाज फिर्ता आएपछि उक्त कम्पनीलाई कालोसूचीमा राख्ने र योसँगको सम्झौता तोडेर नयाँमा जाने सम्भावना छ ।

निगम उच्च अधिकारी भन्छन्, ‘मर्मतमा रहेको जहाज आएपछि उक्त कम्पनीसँग कारोबार नगर्ने तयारीमा निगम छ ।’
निगम नेतृत्वले छिटो इन्जिन मर्मतमा गरेर ल्याउने विषयमा गरेको कमजोरको परिणाम अहिले भोग्नुपरेको हो । पहिले कम्पनी छनोट गर्दा राम्रोसँग अध्ययन र मूल्यांकन नभएको कारण पनि अहिले निगमले घाटा खानुपर्ने गरी जहाज थन्किएको पनि निगकै उच्च अधिकारी बताउँछन् ।

निगमका प्रवक्ता पुनका अनुसार उक्त कम्पनीसँग सहमति भइसकेपछि अर्कोमा लैजान नमिलेको कारण पनि जहाज आउन ढिलो भएको हो । इन्जिन मर्मतमा इजरायली कम्पनीले गरेको ढिलाईका कारण निगमलाई परेको अप्ठारोका विषयमा भने क्षतीपूर्ति दाबी गरिने पनि उनको भनाइ छ ।

‘नेतृत्वको कमजोरीले निगम समस्यामा’

वायुसेवा निगम नेतृत्वको कमजोरीले निगम समस्यामा परेको निगमकै एक सञ्चालक समिति सदस्य बनाउँछन् । निगम संचालक सदस्यका अनुसार अहिलेको निगम नेतृत्वलाई पटक पटक दिएको दबाबका बीच पनि काम हुन नसकेको छैन ।

गर्नुपर्ने काम नगरेको कारण निगमको हितमा निर्णय हुने प्रस्ताव नै नआएको उनको बुझाइ छ । निगमले गर्न सक्ने धेरै काम छन्, त्यसका विषयमा पटक पटक प्रस्ताव ल्याउन गरेको निर्देशनलाई समेत निगम नेतृत्वले नटेरेको उनको बुझाइ छ ।

निगमले यस अघि गत कात्तिक ५ मा मागेको आन्तरिक उडानमा ३ वटा जहाज खरिद गर्ने प्रस्तावसमेत अहिलेसम्म निर्णय गर्न सकेको छैन । निगमले मागेको प्रस्तावमा आवेदन दिने ३ वटै कम्पनी प्राविधिक रुपमा फेल भएका छन् । फेल भएकै कम्पनीलाई पुनः मूल्यांकन गराउन लगाउनु नै निगमको कमजोरी भएको ती अधिकारीको भनाइ छ ।

निगमले आफ्नै स्रोतबाट जम्मा बार्षिक ७५ करोड रुपैयाँ खर्च गर्दा डेढ वर्षभित्रमा ३ वटा जहाज ल्याउने भन्दै अर्थ मन्त्रायको सहमति विना नै जहाज किन्ने निर्णय गरेको थियो । पहिलो जहाज ६ महिनामा, दोस्रो १ बर्षमा र अर्को डेढ वर्षमा ल्याउन निगमलाई आन्तरिक स्रोतले नै साथ दिने हुँदाहुँदै पनि निगमले निर्णय गर्न नसक्दा ६ महिना अगाडि मागेको जहाज खरिदको प्रस्ताव अलपत्र परेको छ ।

त्यसो त वायुसेवा निगमका जहाजले अपेक्षाअनुसार कमाउन नसक्दा ऋणदाता कम्पनी नागरिक लगानी कोष र कर्मचारी संचय कोषको ऋण घटाउन सकेको छैन । निगमले दुई कोषसँग लिएको ३४ अर्बको ऋण बढेर करिब ४७ अर्ब रुपैयाँ पुगिसकेको छ । नियमित किस्ता तिर्न नसक्दा ऋणतादा दुबै कोष निगमसँग असन्तुष्ट छन् । दुबै कोष निगमको जहाज लिलाम गरेरै भए पनि ऋण असुल गर्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् । तर, सरकार जमानी बसेर दिएको ऋण भएकोले सरकारकै निर्णय बिना ऋणदाता दुबै कोषले एकलौटी काम गर्न भने सक्दैनन् ।

निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीले काम गर्न नसकेको, प्रतिवद्धता पूरा नगरेको र मन्त्री निर्देशन अनुसार काम नभएको भन्दै यस अघिका पर्यटन मन्त्री सुदन किरातीले उनलाई कार्यकारी भूमिकाबाट हटाउने उद्देश्ये पहिलो पटक निगममा उपाध्यक्ष नियुक्त गरेका थिए ।

निगमकै सदस्य विक्रम राईलाई उपाध्यक्ष नियुक्त गरेका किरातीले भने मन्त्रीमा निरन्तरता पाएनन् । जसका कारण निगम अध्यक्ष अधिकारीलाई आफ्नो पद जोगिएकोमा मख्ख परेर बस्नेबाहेक केही गर्ने हुटहुटी नै नभएको दाबी निगमकै एक सदस्यको छ ।

पर्यटन मन्त्रीको जिम्मेवारीमा अहिले माओवादीकै हितबहादुर तामाङ छन् । उनले फागुन २३ गते पर्यटन मन्त्रीको जिम्मेवारी लिएको भए पनि अहिलेसम्म औपचारिक रूपमा वायुसेव निगम पुगेका छैनन् ।

निगमको बारेमा औपचारिक ब्रिफिङसमेत नलिएका तामाङ बधाई खान र कार्यकर्ता तथा आफन्तसँगको भेटघाटमै मख्ख छन् । मन्त्री भएको २ साता बितिसक्दा समेत सरकारको शाख तथा पर्यटन मन्त्रालयको ऐना मानिने निगमको बारेमा आवश्यक ब्रिफिङसमेत लिने फुर्सद पर्यटन मन्त्री तामाङले पाएका छैनन् ।


राजु बास्कोटा