‘वानएक्स बेट’मार्फत सट्टाबाजीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ, साढे ५७ करोडको कारोबार



काठमाडौं । सट्टेबाजीका लागि प्रयोग हुने बेटिङ एप ‘वानएक्स बेट’ मा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका–१० का ३० वर्षीय राकेश चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो । उनीहरूलाई प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट चैत २९ गते प्रकाउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, २१ थान सिमकार्ड, दुई थान ल्यापटप, एक थान सीपीयू र नगद ६२ हजार बरामद गरेको जनाएको छ । यसैगरी विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू ‘वानएक्स बेट’मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, क्रिप्टो करेन्सीको कारोबार गर्ने कार्यमा संलग्न थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोलेर ९८ वटा बैंकका खाताहरू लिङ्क गरेर अहिलेसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु