सुजनले दोस्रो पटक छेडाए जिब्रो (तस्बिरहरु)



काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा आज स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् ।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।

यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थिए भने उनका ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । सुजनले दोस्रो पटक जिब्रो छेडाएका हुन् । उनले यसअघि गतवर्ष पहिलो पटक जिब्रो छेडाएका थिए ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि श्रेष्ठ थरकै नेवार व्यक्ति चाहिने परम्परा छ । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।


क्लिकमान्डु