कैलालीमा २ वटा पक्की पुलको काम अलपत्र



कैलाली । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो ।

सुनिखोलामा तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी आठ महिना समयावधी थपिए कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।

थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए । सो पुल निर्माणको काम ६५ प्रतिशत मात्र भएको छ ।

गोदावरी नगरपालिकाकै मनहरा खोलामा नौ करोड ५० लाखको लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ । उच्चकोटी- समिदेव-राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ ।

महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर चन्दले बताए । मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो । नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।

यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ । इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड ३६ लाखमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ।


क्लिकमान्डु