कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छः ओली



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए ।

हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उनले बताए ।

हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए । उनले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए ।

नेपाली कांग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने उनले बताए ।

ओलीले यसो भने

अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रश्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्नेकुरा त भएन । अहिले ठिकै हो । यतिबेला बन्द हुनै पथ्र्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन शुरु हुनैपर्छ । १५ दिनको ग्याप राख्नैपर्छ कमसेकम । गर्दा वैशाखको १८, २० यसै जाने भयो । जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रश्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ । त्यसो भएको हुनाले कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन ।

संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा । सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन ।

जनतालाई त्यति साह्रो परेको छैन । जति काँग्रेसलाई परेको छ । काँग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।


क्लिकमान्डु