ट्राफिक जरिवानाको रकम बढाउने सरकारको तयारी



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्क्ति बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आइतबार ‘ट्राफिक सचेतना विशेष अभियान’को काठमाडौंस्थित न्युरोड गेटबाट सुरु गरेपछि आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने बताए । यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ’ गृहमन्त्रीले भने ।

गृहमन्त्रीले सडकसँग सम्बन्धित सरकारका निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक रहेको बताए । उनले ऐन, कानुन सुधारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्ता व्यक्त गरे ।

नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्ने उनले बताए ।

ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले हाल तिराउने गरिएको जरिवाना बढाइने बताए ।

ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिइने उनकव भनाइ छ । लामिछानेले चालकसँग १/२ सय लिएर संगठनकै वेइजत नगर्न ट्राफिक प्रहरीलाई आग्रह गर्दै सरकारले वृति-विकासमा ध्यान दिने बताए ।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताए । अभियानका क्रममा ‘पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट’ समय दिइने उनले बताए ।

सार्वजनिक यातायात सुधारका लागि पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीले माग गरे ।


क्लिकमान्डु