संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिइन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको उनले बताइन् ।

आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताइन् ।

२०८० चैत ३० गतेको मन्त्रीपरिषद बैठकका निर्णयहरु:

१. कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने :
क. सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र – अध्यक्ष
ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य- सदस्य
ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु –
सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल – सदस्य
डा. अर्जुनकुमार कार्की – सदस्य
श्री स्टेला तामाङ – सदस्य

२. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने ।

३. परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने ।

४. संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

५. राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।


क्लिकमान्डु