सप्ताहन्त र नयाँ वर्षले पर्यटकीय क्षेत्र खचाखच, खर्चालु नेपालीले उत्साहित पर्यटन व्यवसायी



काठमाडौं । सप्ताहन्त, नयाँ वर्ष र पर्यटकीय सिजनले होटल तथा रेस्टुरेन्ट खचाखच भएका छन् । काठमाडौं, पोखरा, चितवन, नगरकोटलगायतका क्षेत्रका होटल तथा रेस्टुरेन्टलाई आज र भोलि दुई दिन भ्याँइनभ्याई हुने भएको छ ।

पर्यटनको सिजन भएकोले काठमाडौं उपत्यकाकै होटलमा ७० प्रतिशत अकुपेन्सी (भराइदर) भएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । उनका अनुसार नेपाली नयाँ वर्षमा विदेशी पर्यटक आकर्षित गर्न खासै अफर ल्याउने गरिएको छैन । यो बेला पर्यटकीय सिजन भएकोले स्वतस्फूर्त रुपमा आउने पर्यटक होटल भइरहन्छन् ।

मार्चदेखि मे महिनासम्मको लागि होटलहरुले पर्यटक पाइरहने, संस्थागत रुपमा आउने पर्यटक बढ्दै गएको र कोभिपछिको सकारात्मक सन्देशले यसपालिको नयाँ वर्षमा व्यवसायी उत्साहित भएको हानका महासचिव शाक्यले बताए । मार्चमा आएका १ लाख पर्यटकको कारण पनि अहिले पर्यटकीय क्षेत्रलाई उत्साह दिएको छ ।

‘नयाँ वर्षले पर्यटकीय क्षेत्रका होटल प्याक भएका छन । त्यसमा पनि पर्यटकीय सिन भएको र भारतीय पर्यटकको पनि नेपाल भ्रमण गर्ने उपयुक्त समय हुदै गरेकोले पनि होटलहरुको अकुपेन्सी औषमा ७० प्रतिशत पुगेको हो’ शाक्यले भने ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान)का अध्यक्ष संघर्ष विष्टले अहिले आन्तरिक पर्यटकको मुभमेन्ट बढेकोले पर्यटकीय क्षेत्रका होटल रेस्टुरेन्ट भरिभराउ हुन पुगेको बताए । ‘सानाठूला रेस्टुरेन्ट सबैले अलिहे बिजनेस पाएका छन त्यसैले नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षको दिनलाई सबैसजो क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यस्त हुन्छन्’ उनले भने ।

३५ हजार पर्यटक पोखरामा मात्रै

पर्यटकीय नगरी पोखरामा एकै दिनमा ३५ हजारसम्म पर्यटक पुग्न सक्छन् । सरकारले दुई साता अगाडि मात्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । पर्यटकीय राजधानी घोषणाले दिएको सकारात्मक सन्देश, नयाँ वर्षको दिन हुने पोखराको फेवा महोत्सव र पर्यटकीय सिजनका कारण आन्तरिक र बाह्य पर्यटकको चाप पोखरामा बढेको होटल बाराहीका अध्यक्ष विप्लव पौडैलले बताए ।

पोखरमा उसै पनि नयाँ वर्ष र सप्ताहन्तमा पर्यटकको चाप बढ्ने क्षेत्र हो । नयाँ वर्षको अघिल्लो दिन शुक्रबार परेकोले आन्तरिक र बाह्य पर्यटकको चाप बढेको छ । पोखरा फेवा महोत्सवले पनि आन्तरिक पर्यटक आकर्षित हुने बुझाइ पोखराका व्यवसायीको छ ।

पछिल्लो समय नेपालीको घुम्ने संस्कृति बढ्दै गएको छ भने संस्थागत रुपमा घुम्ने र नयाँ वर्षकै लागि बनाइने पारिवारिक योजनाको लाभसमेत पोखराले पाउने बुझाइ पौडेलको छ ।

नयाँ वर्षको अघिल्लो दिन शुक्रबार बिहानसम्ममा नै पोखराका होटल तथा रेस्टुरेन्टमा ७५ प्रतिशते अकुपेन्सी छ । शुक्रबार साँझ भने ९० प्रतिशत नै पुग्ने बुझाइ यहाँका व्यवसायीको छ ।

पोखरामा आउने पर्यटकमध्ये ६० प्रतिशत विदेशी छन भने आन्तरिक र भारतीय गरेर करिब ४० प्रतिशत पुग्ने छन् । आन्तरिक पर्यटक योजना बनाएर घुम्न निक्सने, परिवारसहित वा साथीभाईसँग जानले गर्ने खर्च भने विदेशीको तुलनामा बढी हुने पनि होटल तथा रेस्टुरेन्ट व्यवसायीको भनाइ छ ।

२४ सै घण्टा खुला हुने भएपछि ठमेलका व्यवसायी उत्साहित

पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग नयाँ वर्ष २०८१ देखि २४ सै घण्टा खुला हुने भएको छ । नेपाल आएका पर्यटनमध्ये ८० प्रतिशत ठमेल पुगेर मात्रै फर्कन्छन भन्ने मान्यतालाई स्थापित भएको छ । अब २४ सै घण्टा खुलाले सकारात्मक सन्देश बढेको रेवानका अध्यक्ष संघर्ष विष्टको भनाइ छ ।

पछिल्लो समय ठमलेमा आउने पर्यटकमा चाइनिज, भारतीय, ट्राभल टुरिष्टसहितका कारण चहलपहल बढाएको छ । पर्यटनका लागि मार्चदेखि मे सम्म सिजन हुने हुँदा अहिले ठमेलमा पर्वतारोहणमा जाने पर्यटक पनि आइपुगेका छन । यी बाहेक मनोरन्जनका लागि निस्किएका ट्राभलरका कारण पनि पर्यटकीय क्षेत्रमा चाप बढाएको छ ।

सरकारले ठमेललाई २४ सै घण्टा खुला गर्ने भए पनि यहाँका व्यवसायी उत्साहित भएको पनि रेवानका अध्यक्ष विष्टले बताए । उनले भने ‘नेपालमा व्यवसायिक वातावरण भएको सन्देश दिन र पर्यटकीय क्षेत्रको महत्व दर्शाउन र पर्यटकले चाहेकै बेला ठमेल बजार घुम्न तथा आवश्यक सपिङ गर्न सक्ने गरी बजार खुला हुनुलाई सकारात्मक मानिएको विष्टले बताए ।

पोखरा जाने हवाई टिकट प्याक

काठमाडौंबाट पोखरा आउने जाने हवाई टिकटसमेत अहिले प्याक छन् । सामान्य समयमा पनि पोखरा जाने यात्रु बढीरहेकोले नयाँ वर्षको उत्साहले थप हवाई चाप बढाएको आन्तरिक वायुसेवा कम्पनीले बताएका छन् ।

आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको मात्रै काठमाडौंबाट पोखरामा दैनिक १७ वटा उडान हुने गरेको छ । यो वायुसेवाको नेपालगन्ज, भैरहवा र भरतपुरबाट पनि दैनिक एक एक उडान पोखराको लागि गर्छ ।

पोखरामा हाल यती एयरलाइन्स र श्री एयरलेसमेत नियमित उडान गर्दै आएका छन् । यी दुई वायुसेवाको उडानमा पनि यात्रु चाप बढेको सम्बन्धित वायुसेवाको भनाइ छ ।


राजु बास्कोटा