यति ब्रुअरीले ६ महिनामा गर्‍यो १ अर्बको व्यापार, लगानी थप्दै



काठमाडौं । अर्नासहित ६ वटा ब्राण्डमा मदिरा बेच्ने यति ब्रुअरीले ६ महिनामा १ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब १० करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ५६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०२२ मा ३ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ९८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१३ मा चितवनमा बियर उत्पादन गर्ने उद्योग खेलेको कम्पनीले विभिन्न प्रकारका बियर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०१७ बाट व्यवसायिक कारोबार सुरु गरेको थियो । सुरुमा कम्पनीले वार्षिक १ करोड ३० लाख लिटर मदिरा उत्पादन गर्ने क्षमतासहित उद्योग सञ्चालनमा ल्याएको थियो ।

अहिले उद्योग लगानी थप गरेर वार्षिक २ करोड ४० लाख लिटर मदिरा उत्पादन गर्ने गरी विस्तार गरेको छ । साथै कम्पनीले बजार विस्तार हुँदै गएपछि उद्योगमा पुन: थप लगानी गरेर वार्षिक ४ करोड ३० लाख लिटर क्षमतामा मदिरा उत्पादन गर्ने योजना बनाएको छ ।

कम्पनीले अहिले अर्ना, यति, शिखर, वाईबी, किङफिसरक र सेभेन सिन ब्राण्डको १४ वटा वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्वदेशी बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले भारत, जापान र अष्ट्रेलियामा उत्पादित मदिरा निर्यात गर्दै आएको छ ।

कम्पनीले सन् २०१८ मा निर्यातका लागि ट्रेडमार्कको लाइसेन्स प्राप्त गरेको थियो । साथै कम्पनीले भारतको युनाइटेड ब्रुअरीसँग वितरणका लागि सम्झौता गरेको थियो । भारतको ब्रुअरीको विश्वका ६० वटा देशमा उपलब्ध छ ।

अहिले नेपाली बजारमा अर्ना सबैभन्दा बढी बिक्री हुने बियरमध्ये तेस्रो स्थानमा छ । तर अर्थतन्त्रमा देखिएको समस्याका कारणले सन् २०२३ मा भने २६ प्रतिशतले घटेको कम्पनीको भनाइ छ । त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनाको अविधमा पनि सन् २०२२ को ६ महिनाको तुलनामा १२ प्रतिशतले घटेको उल्लेख छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १८.०५ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीले अर्थतन्त्रमा देखिएको समस्याका कारण व्यापार घटिरहेको अवस्थामा पनि क्रिकेटको टी-२० वर्ल्ड कपको अवसरमा नयाँ उत्पादन सार्वजिनक गरेको छ । कम्पनीले वाईबी पिल्स्नर र यति वाइल्ड सार्वजनिक गरेको हो ।

विशाल ग्रुप र एभरेष्ट ग्रुपको लगानी रहेको कम्पनीमा सञ्जिव सराफको ३२.८४ प्रतिशत, जयजीव सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.९२ प्रतिशत स्वामित्व छ ।


क्लिकमान्डु