मारुती सिमेन्टले क्षमता विस्तार गर्न थप सवा ६ अर्ब रुपैयाँ लगानी गर्दै



काठमाडौं । मारुती सिमेन्टले उत्पादन क्षमता विस्तार गर्न थप सवा ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले अहिले उत्पादन गरिरहेको क्षमतालाई बढाउने योजनासहित ६ अर्ब २१ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीसँग अहिले दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ ।

कम्पनीले थप लगानी गरेर दैनिक १५ सय मेट्रिक टनबाट ३३ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक टनबाट ४ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ ।

कम्पनीले उक्त उद्योग क्षमता विस्तार गर्न लगानीको अनुपात ६३:३६ राखेको छ । त्यस्तै कम्पनीले क्षमता विस्तार गर्न ५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको छ ।

व्यापार हरेक वर्ष घट्दै गएको छ । कम्पनीको पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष व्यापार घट्दै गएको देखिन्छ ।

सन् २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा घटेर ५ अर्ब ५ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै सन् २०२३ मा १ अर्ब रुपैयाँले घटेर ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीअनुसार सन् २०२३ मा ११ प्रतिशतले घटेको छ ।

सन् १९९४ स्थापना भएको कम्पनी राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानी छ । कम्पनीको अध्यक्ष नन्दकिशोर राठी हुन् भने सुनिल खेम्का व्यवस्थापन निर्देशक हुन् ।

कम्पनीको देशभर २ सयभन्दा बढी डिलर छन् । कम्पनीले मरुती ब्राण्डमा उत्पादित सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ३.२३ खुदा नाफा कमाएको छ । सन् २०२२ मा ५.०४ प्रतिशत नाफा कमाएको थियो ।


क्लिकमान्डु