४३९ मेगावाटको बेतन कर्णाली निर्माण अघि बढ्दै, कहिले होला उत्पादन ?



काठमाडौं । ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण अघि बढ्ने भएको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण अघि बढाउन लागेको हो । कम्पनीले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । विद्युत् विकास विभागले अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।

यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको आयोजना हो । जसमा मुख्य पावर हाउसबाट ४३०.१३ मेगावाट  र वातावरणीय वहाबबाट थप ८.८ मेगावाट उत्पादन हुनेछ । आयोजनाबाट वार्षिक सरदर २३०२.५ गिगावाट घण्टा उत्पादन हुनेछ।

आयोजनाको मुख्य संरचना कर्णाली नदीको दायाँ किनारा ढकारी गाउँपालिकामा पर्दछ । २०१५ मिटरको हेडरेस टनेल निर्माण हुनेछ । निर्माण थालेको पाँच वर्ष अर्थात २०८८ भदौ १ गतेबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

यो कर्मचारी सञ्चयकोषले अघि बढाउन लागेको आयोजना हो । कम्पनीमा कर्मचारी सञ्चयकोषको १५ प्रतिशत, सञ्चयकर्ताको ४० प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत गरी कुल ७५ प्रतिशत प्रमोटर सेयर हुनेछ । भने २५ प्रतिशत रकम सर्वसाधरणबाट उठाइनेछ । सर्वसाधरणका लागि १३ प्रतिशत, आयोजना प्रभावितका लागि १० प्रतिशत र अति विपन्न परिवारका लागि २ प्रतिशत छुट्याइएको छ  ।

८८ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उत्पादन अनुमतिपत्र प्राप्त भएपछि निर्माणको  बाँकी काम अघि बढाउने तयारीमा कम्पनी छ ।

प्रस्तावित जलविद्युत् आयोजना कर्णालीको सुर्खेत र सुदूरपश्चिमको अछाममा पर्छ ।


क्लिकमान्डु