८ महिनामा पुँजीगत खर्च ८१ अर्ब मात्रै



काठमाडौं । चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा पुँजीगत खर्च ८१ अर्ब मात्रै भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा सरकारको पुँजीगत खर्च ८१ अर्ब २१ करोड भएको छ । यस्तै चालु खर्च ५ खर्ब ८२ अर्ब ११ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ३८ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक बर्षको आठ महिनामा सरकारको कूल खर्च भने ८ खर्ब १ अर्ब ५८ करोड भएको छ । सरकारी खर्च गत आर्थिक बर्षको पहिलो आठ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक बर्षको समिक्षा अवधिमा २.९ प्रतिशतले यो दर वृद्धि भएको छ ।

समिक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकमसमेत) ६ खर्ब ३९ अर्ब ५ करोड भएको छ ।

गत आर्थिक बर्षको पहिलो साता महिनामा १४.९ प्रतिशतले घटेको राजस्व समिक्षा अवधिमा ९.७ प्रतिशतले बढेको छ । यसले गर्दा कर राजस्वतर्फ ५ खर्ब ७८ अर्ब ६७ करोड र गैरकर राजस्वतर्फ ६० अर्ब ३७ करोड रुपैयाँ परिचालन भएको छ ।


क्लिकमान्डु