अरुण तेस्रोको मूल्य समायोजन गर्न सहसचिव धनिराम शर्माको संयोजकत्वमा अध्ययन कमिटी बन्यो



काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको मूल्य समायोजन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

लगानी बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री वर्षमान पुन अध्यक्षतामा बसेको अनुगमन तथा सहजीकरण समितिको ११औं बैठकले अर्थ मन्त्रालयका राजश्च व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा  अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण-३ पावर विकास कम्पन प्रालिले मूल्य समायोजन अनुसारको रकम सटहको माग गरेको थियो ।  ९०० मेगावाटको यो जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत काम सकिएको छ । आगामी डेढ वर्षमा उत्पादनको लक्ष्य छ । उत्पादित बिजुली भारत निर्यात हुनेछ । भारतीय कम्पनी एसजेभीएनले आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको  ड्याम साइट पहुँच मार्गका रूपमा प्रयोग भईरहेको कोसी राजमार्गको खाँदबारी- दोभान सडक खण्ड स्तरोन्नतिको विषयमा समेत छलफल भएको छ ।

पावर हाउस प्रवेश मार्ग छ्याङ्कुटीदेखि डिडिङसम्मको २४.५ किमी सडकको मुआब्जाको समस्या समाधानका विषयमा छलफल भएको छ । साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नति सम्बन्धी विषयहरूमा छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ । 

खाँदबारी दोभान सडक खण्डको स्तरोन्नतिको कार्य द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ भने होड्शी शिवम् सिमेन्टको पहुँच मार्ग स्तरोन्नतिको लागि सम्बन्धित निकायबाट बजेटको प्रस्ताव गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रस्तुत भएका विभिन्न परियोजनाहरुको सहजीकरण गर्नुपर्ने विषयको जानकारी लिदै अर्थमन्त्री पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिए ।  


क्लिकमान्डु