देश छाड्नेको भिडले हवाई टिकट अचाक्ली महँगियो, एक महिनासम्मलाई बुकिङफुल

१० हजारमा पाइने काठमाडौं-दिल्ली भाडा ४८ हजार !



काठमाडौं । पर्यटकीय सिजन, सीमित ट्राभल एजेन्सीले बजेट एयरलाइन्सका टिकेट बल्कमा लिएर होल्ड गर्ने र देश छाड्नेको संख्या धेरै भएका कारण हवाई टिकट अचाक्ली महँगिएको छ । अहिले मार्च–अप्रिल पर्यटकीय सिजन भएकोले नेपालमा आउने र जाने विदेशीको चाप बढेको छ ।

दैनिक २ हजारदेखि २५ सयसम्म नेपाली कामको खोजीमा वैदेशिक रोजगारीमा जान थालेका कारण वायुसेवा कम्पनीहरुले मौकाको फाइदा उठाइहेका छन् ।

अहिले एक त पर्यटकीय सिजन हो भने अर्कोतर्फ माग जति बढ्यो हवाई टिकट उति नै महँगो बनाउन पाइने भएकोले यसको फाइदा अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीहरुले लिइरहेका छन् ।

काठमाडौंबाट अहिले करिब डेढ घण्टाको उडान दूरीमा रहेको भारतको दिल्ली जानुपर्दासमेत एकतर्फी भाडा मात्रै ४८ हजार रुपैयाँ पुगेको छ । नेपाल भित्रनेको तुलनामा बाहिरिनेको टिकट अधिक महंगो भएको छ । काठमाडौंबाट भोलि (४ अप्रिल)मा दिल्ली जानेका लागि ४८ हजार रुपैयाँभन्दा बढी भाडा पुगिसकेको छ ।

काठमाडौं दिल्ली गन्तव्यमा तीन दिन पछाडि (६ अप्रिल)मा जाने हो भने पनि कम्तिमा ३७ हजार रुपैयाँ भाडादर लाग्ने भएको छ । तर, दिल्लीबाट काठमाडौं फर्कदा भने जम्मा १२ हजार रुपैयाँ तिरे पुग्छ । काठमाडौं दिल्ली नर्मल समयमा ७ देखि १० हजार रुपैयाँको भाडा भए पनि वायुसेवा कम्पनीहरुले अचाक्ली महंगो लिइरहेका हुन् ।

पर्यटकीय र विद्यार्थीको सिजन भएकोले काठमाडौंबाट जापान जानेका लागि पनि कम्तिमा सवा लाख रुपैयाँभन्दा बढीको भाडा तिर्नुपर्ने छ ।

रामेछापका रिवाज तामाङ विद्यार्थी भिसामा जापान जाने तयारीमा छन् । उनले २ दिन अगाडि मात्रै क्याथे प्यासिफिकबाट जापान जान एक साता पछाडिको टिकट लिए । उनले काठमाडौं जापानको एकतर्फी भाडाका लागि १ लाख २५ हजार रुपैयाँ तिरेका छन् ।

यो गन्तव्यमा एक साताभन्दा छिटो टिकट लिन चाहनेले भने १ लाख ५६ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने ट्राभल एजेन्सीले जानकारी दिएका छन् । यद्यपी काठमाडौंबाट जापान जाने टिकट पर्यटकीय सिजन अगाडि भने ५०/५५ हजारमा सहजै पाइने गन्तव्य भएको पनि टिकेटिङ व्यवसायीको भनाइ छ ।

अहिले काठमाडौबाट खाडी मुलुक जानसमेत नर्मल समयकोभन्दा निकै बढी भाडा तिर्नुपर्छ । अगामी ३ दिनपछि काठमाडौंबाट दुबई जान ७५ हजार भन्दा कमको टिकट नै उपलब्ध नभएको एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काले बताए ।

‘अहिले अन्तर्राष्ट्रिय उडानका सबै वायुसेवाको भाडा अचाक्ली बढेको छ । हवाई टिकट जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यको पनि छोइनसक्नु भएर आएको छ’ उनले भने ।

एयरलाइन्सले महँगोमा मात्रै टिकट उपलब्ध गराएको र त्यहीँ पनि यात्रुको चापले गर्दा पाउनै मुस्किल भएको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अन्तर्राष्ट्रिय उडानका विमानहरुको भाडादर आफूहरुले तोक्न नमिल्ने बताए ।

‘आन्तरिक वायुसेवाको मात्र सरकारले भाडा दर तोक्ने हो । अन्तर्राष्ट्रिय उडानको भाडा हामीले तोक्ने होइन,’ उनले भने, ‘माग र आपूर्तिको सिद्धान्त अनुसार बजारले निर्धारण गर्छ ।’

वायुसेवा कम्पनीहरुले यात्रुको चाप अनुसार आफैं भाडादर घटबड गर्न पाउँछन् ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान मात्रै दैनिक १०० भन्दा बढी हुन्छ । विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट जाने ५० वटा र फर्कने पनि सोही नै संख्यामा विमान हुने गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले पर्यटकीय सिजन भए पनि काठमाडौंबाट सिधै लामो दूरीमा जाने वायुसेवाको कमी हुँदा टिकट महँगिएको हो । ‘सीधै युरोप तथा अमेरिकासम्म जाने वायुसेवा नहुँदा टिकट महंगिने गरेको छ ।’

अहिले ओमानबाट आउने सलाम एयर र तिब्बत एयरलाइन्सको उडान विन्टर सिजनपछि बन्द रहेको उनले बताए । केही गन्तव्यमा उडान संख्या कम हुँदा यात्रुको चाप यही बेला बढेको पनि हुन सक्ने उनले बताए ।

एक महिनासम्मलाई निगमको टिकट छैन

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश वायुसेवाको टिकट एक महिनासम्मलाई बुकिङफुल देखाएको ट्राभल एजेन्सीले जानकारी दिएका छन् । टिकट उपलब्ध नहुने, भए पनि महँगो हुने र पाउनै मुश्किल पर्ने अवस्था एक महिनासम्मलाई देखिएको छ । अप्रिल महिना नेपालमा पर्वतारोहणको सिजन भएकोले पनि वायुसेवाका टिकट पाउन मुस्किल भएको ट्राभल एजेन्सीको भनाइ छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज पनि ३ सातासम्मलाई बुकिङफुल रहेको जानकारी दिएको छ । वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने ‘काठमाडौंबाट जाने र आउनेको संख्या बढेकोले हवाई टिकट प्याक छ,’ उनले भने, ‘देश छोड्नेहरुको संख्या दैनिक २/३ हजार हुन थालेकाले पनि अहिले सबैजसो वायुसेवाको टिकट प्याक हुन पुगेको हो ।’

वायुसेवा निगमका अनुसार काठमाडौंबाट हुने संयुक्त अरब इमिरेट्स (युएई)को दुबई, कतारको दोहा, थाइल्याण्डको बैंकक, जापानको नारितामा हुने उडान सबै पूर्ण क्षमतामा चलेको छ । ‘१५ दिन अगाडि दुबई जान चाहनेलाई समेत निगमले टिकट दिन सकेको छैन’ उनले भने ।

विमानस्थलमा लागेको भिडका कारण देशमा कोही बस्नै नचाहेको जस्तो देखिन थालेको छ । जति धेरै यात्रुको आवागमन बढ्यो वायुसेवा कम्पनीको व्यापार उति नै चम्किने गर्छ । त्यसमा पनि अहिले पर्यटकीय सिजनसँगै नेपाली विद्यार्थीदेखि कामदारसम्म बाहिरिने क्रम बढिरहेकोले त्यसको लाभ वायुसेवा कम्पनीहरुले लिइरहेका छन् ।

अहिले पर्यटकीय सिजन हो भने अर्कोतर्फ निगमसँग जहाजको संख्या कम भएकोले पनि यात्रु चाप थेग्न नसकिने गरी बढिरहेको निगमले जनाएको छ ।


राजु बास्कोटा