हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने



काठमाडौं । आन्तरिक वायुसेवाको हवाई भाडा बढ्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा पुनरावलोकनका लागि नविना कर्मचार्यको संयोजकत्वमा एक समिति गठन गरेर आन्तरिक वायुसेवा कम्पनीहरूको हवाई भाडा बढाउन अध्ययन गर्न सुरु गरेको छ ।

समितिले हवाई भाडा बढाउनुपर्ने कारण, पछिल्लो समय बढेको वायुसेवाको लागत, जहाजको प्रकृति अनुसारको सञ्चालन खर्च सहितको विषयमा एक प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा हवाई भाडा बढाउन सिफिरिस गर्ने भएको छ ।

प्राधिकरणका अनुसार विसं २०७३ पछि हवाई भाडा बढेको छैन । पछिल्लो ७ वर्षमा जहाजका पार्टसहरूको मूल्य, नेपाली रुपैयाँसँग डलर सटहीको दर, हवाई इन्धनको मूल्य, कर्मचारीको खर्च, बजारको मूल्यबृद्धिसहितका सम्पूर्ण पाटोलाई हेरेर हवाई भाडा बढाउनुपर्ने निष्कर्षमा वायुसेवा कम्पनीहरू पुगेका छन् । तर, वायुसेवा कम्पनीहरूले आफैंले भाडादर निर्धारण गर्न सक्दैनन्, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको भाडादर मात्रै लागू गर्नुपर्छ ।

वायुसेवा कम्पनीहरूको चाहना अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति बनाएको हाे । समितिले सम्पूर्ण पाटोबाट अध्ययन गरिरहेकोले अध्ययन प्रतिवेदन पेश भएपछि हवाई भाडा २० प्रतिशतसम्मले बढ्न सक्ने बुझाई उड्डयन प्राधिकरणका सूचना अधिकरी तथा हवाई भाडा पुनरावलोक अध्ययन समितिका सदस्यसचिव ज्ञानेन्द्र भुलले बताए ।

‘भाडा बढाउने मोलालिटी हुन्छ त्यसैका आधारमा भाडादर तय हुन्छ,’ उनले भने । दुर्गम क्षेत्रमा ट्वीनअटर जहाजमा र सुगममा बिचक्राफ्ट तथा एटीआरको आधारमा तय गरिएको भाडादरमा अहिले जहाजको प्रकृतिअनुसार समयानुकुल गर्नुपर्ने बेला भएको पनि उनले बताए ।

कुन गन्तव्यमा कति भाडा बढ्छ भन्ने विषयमा अहिले नै भन्न सकिदैन । वायुसेवा कम्पनीहरूको उडान गन्तव्य अनुसार कति बढाउने भन्ने विषयमा अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा मात्रै तय हुने प्राधिकरणले जनाएको छ । प्रतिवेदनलाई मन्त्रालयको अनुमति र सरकारको स्विकृतीसम्म आवश्यक पर्ने पनि प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

पछिल्लो समय दुर्गमको २०७३ र सुगम गन्तव्यको २०७५ बाट नयाँ भाडादर लागू भएको साेहीलाइ आधार बनाएर अध्ययन समितिले थप भाडा बढाउन सकिने विषयमा सिफारिस गर्ने अनुमान गरिएको छ । अहिलेको भाडादरमा इन्धन शुल्क, विमानस्थल सेवा शुल्क र मूल्य अभिवृद्धि कर यात्रुले तिर्ने भाडामै जोडिएर आउने गर्छ । यस्तो भाडादरमा वायुसेवा कम्पनीलाई न्यूनतम र अधिकतमको शुल्क प्राधिकरणले नै तोकिएको हुन्छ । सोही आधारमा भाडादर निर्धारण हुने गरेको छ ।

यात्रुकाे टिकटमा जोडेर लिने शुल्क सबै भाडादर होइन् । वायुसेवा कम्पनीहरूले इन्धनको शुल्क (सरचार्ज)सँगै जोडेर यस्तो भाडादर लिने गरेका हुन्छन । हाल आन्तरिक वायुेवा कम्पनीहरूले लिने भाडामा इन्धनको शुल्क, ५ सय रुपैयाँसम्मको विमानस्थल सेवा शुल्क र १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट) जोडिएको हुन्छ ।

भाडा बढाउन वायुसेवा कम्पनीको निरन्तर दबाब

आन्तरिक उडानका सबैजसो वायुसेवा कम्पनीले हवाई भाडा समयानुकुल बढाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दबाब दिइरहेका छन् । बजारमा विभिन्न कारणले बढेको महंगीले वायुसेवाको सञ्चालन खर्चसमेत उकालो लागेको छ । वायुसेवा कम्पनीहरुलाई हालको भाडादरबाट भएको आम्दानीले धान्न नसक्ने अवस्था सिर्जना हुँदै गएकोले भन्दै उनीहरूले नियामक निकायसमक्ष दबाब दिइरहेका छन् ।

आन्तरिक उडानका वायुसेवाको भाडा नबढेको ७ वर्ष भएको छ भने यो बीचमा खर्च मात्रै बढिरहेकोले भाडादरमा पुनरावलोकन आवश्यक भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘वायुसेवा कम्पनीहरूले खर्च डलरमा आम्दानी भने नेपाली रुपैयाँमा भइरहेको छ,’ उनले भने, ‘जसले गर्दा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार डलरको दर बढ्दा खर्च बढ्ने तर आम्दानी नेपाली रुपैयाँमा स्थीर गरिएकोले नबढ्ने भइरहेको छ ।’

कर्मचारीको तलव, डलरको मूल्यबृद्धि, नेपाल नागरिक उड्डयन प्राधिकरणले बढाएको इक्युपमेन्ट चार्ज तथा पार्किङ, ल्याण्डिङमा भएको भाडाबृद्धिसहितले खर्च बढाएको छ । प्राधिकरणले विमानस्थल दस्तुर नियमावली संशोधन गरेर आन्तरिक वायुसेवाका गाडी पार्किङमा ८ सय गुणाले भाडा बढाएका छन् भने सोही अनुसार आम्दानी भने बढ्न नसकेको गुनासो पनि वायुसेवा कम्पनीहरूको छ ।

खर्च डलरमा आम्दानी नेपाली रुपैंयामा
७ वर्ष अगाडि एक डलरको करिब ९० रुपैयाँ रहेको नेपाली मुद्रासँगको डलर सटही दर अहिले बढेर १३३ रुपैयाँ नाघिसकेको छ । वायुसेवा कम्पनीहरूले आयात गर्ने सामान डलरमा, सबै प्रकारका स्पेयर पाट्स डलरमै पैसा तिरेर ल्याउनुपर्छ भने प्राधिकरणले नै विमानस्थलमा दिने, पाइलटको तालिम तथा स्वास्थ्य जाँचका सेवालाई पनि डलरमै हिसाब गरेर लिने गरिएको छ । यसले गर्दा आन्तरिक वायुसेवाको खर्च डलरमा र आम्दानी भने नेपाली रुपैयाँमा भइरहेको छ ।

डलरको भाउ बढेको बढ्यै गर्ने तर नेपाली रुपैयाँको भने नबढ्ने हुँदा अब वायुसेवा कम्पनी बचाउन पनि भाडा बढाउनुपर्ने तर्क वायुसेवा कम्पनीहरूको छ ।

बुद्ध एयरका बरिष्ठ बजारप्रवन्धक रुपेश जोशी पनि सरकारले हरेक २/२ वर्षमा बढाउनुपर्ने भाडादर ७ वर्षसम्म नबढ्नु विडम्बना भएको बताउँछन् । ‘वायुसेवाको गन्तव्य र लागत अनुसार भाडादर तय गर्न पटक पटक सुझाव दिइसकेका छौं,’ उनले भने ।

अहिले अध्ययन समिति गठन भएर त्यसले दिने प्रतिवदेनमा पनि हाम्रा माग सम्बोधन भएर जाने विश्वास उनको छ, ‘अध्ययन समितिले वायुसेवा कम्पनीबाट सुझाव मागेको छैन्, पक्कै पनि हाम्रा समस्या सम्बोधन हुने गरी अध्ययन समितिले प्रतिवेदन बनाउला,’ जोशीले भने ।


राजु बास्कोटा